काठमाडौं । नेपालमा शनिबार बिहान ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला, कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष र पर्साको छपकैयाका ६२ वर्षीय पुरुष गरी ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य छ। शनिबार ७ जनामा कोरोनाको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ।
यस्तै नेपालमा कोरोना संक्रमण निको भएर फर्किनेको संख्या ३१ पुगेको छ। शुक्रबार ९ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या ३१ पुगेको हो।
शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका २८ जना कोरोना संक्रमित बिरामीमध्ये उपचारपछि शुक्रबार थप आठ जना कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज भएका थिए भने धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी थिइन्। जससँगै सूदुरपश्चिम कोरोनामुक्त भएको छ ।