“नेपाली भूमिमा भारतले सडक निर्माण गर्दा सरकारले थाहा नपाउनु विडम्बनापूर्ण”

काठमाडौँ – भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको निर्माण गरेको प्रति साझा पार्टीले कडा भत्सर्ना गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेको भारतले अहिले थप हस्तक्षेप गर्दै सडक मार्ग निर्माण गरेको भन्दै कडा भत्सर्ना गरेको हो।

“भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोबारे साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको हो। त्यसको साझा पार्टी कडा भत्सर्ना गर्दछ।”,सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले विज्ञप्तिमा भनेको छ।

यस्तै भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा नेपालको पनि ‍कुटनीतिक कमजोरी रहेको साझाको ठहर छ। साझाले आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनुलाई अत्यन्तै विडम्वनापूर्ण भनेको छ।

साझाद्वारा जारी विज्ञप्ति निम्न छ –

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोबारे साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको हो। त्यसको साझा पार्टी कडा भत्सर्ना गर्दछ।

भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले दोहोर्याउँदै आएको छ। त्यो स्पष्टत: भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमूना हो।

भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नु दुखद् छ।

भारतबाट बारम्बार सीमा अतिक्रमणका घटना हुनुमा हाम्रो ‍कुटनीतिक कमजोरी पनि उत्तिकै जिम्मेवार छ।

आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घाटन गर्दासम्म नेपाल सरकार बेखवर रहेको देखिनु अत्यन्तै विडम्वनापूर्ण स्थिति हो।

भारतले सबै अतिक्रमित भूमि छोडेर जानु पर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नु पर्छ, पछिल्लो समय उसले जारी गरेको नयाँ नक्सा सच्याउनु पर्छ र नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नु पर्छ भन्ने साझा पार्टीको धारणा रहेको छ।

शरदराज पाठक
सहप्रवक्ता, साझा पार्टी
मिति: २६ वैशाख २०७७

प्रकाशित : शनिबार, बैशाख २७, २०७७०५:४९

“भारतले नेपाली भूमिमा सडक बनाइरहँदा हाम्रा रक्षामन्त्री कहाँ थिए ?, जबाफ चाहियो”