यूएईमा एकै दिन २२ नेपाली महिलामा कोरोनाको पुष्टि, नेपाली संक्रमितको संख्या यति पुग्यो !

सांकेतिक तस्विर

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई)मा एकै दिन करिब दुई दर्जन नेपाली महिला कामदारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यूएईको सारहजामा एकै दिन २२ जना नेपाली महिला कामदारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

यूएईको सारहजास्थित एक सफाइ कम्पनीमा कार्यरत ६१ महिला कामदारमा एकैपटक कोरोना संक्रमणको पुष्टि भएको र ६१ कामदार मध्ये २२ जना नेपालि रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईले जनाएको छ। कोरोना पुष्टि भएको उक्त कम्पनिमा लगभग १०० जना नेपाली महिला कामदार काम गर्दै आएको बताइएको छ।

एकै पटक २२ नेपालीमा कोरोनाको पुष्टि भएपछि यूएईमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय ४९ पुगेको छ। जसमध्ये ६ जनाकाे मृत्यु भएको छ भने २७ जना निको भएका छन्।

यूएईमा अहिले सम्म कोरोना संक्रमितको संख्या १६ हजार ७ सय ९३ पुगेको छ। जस मध्ये ५ सय ५३ जना बितेको २४ घण्टामा फेला परेका हुन्। बितेको २४ घण्टामा यूएईमा ९ जनाको ज्यान गएको छ। जससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या १ सय ७४ पुगेको छ।

यस्तै त्यहाँ अहिले सम्म ३ हजार ८ सय ३७ संक्रमित निको भएका छन् भने १२ हजार ७ सय ८२ जनाको उपचार चलिरहेको छ।

प्रकाशित : शनिबार, बैशाख २७, २०७७०६:३४

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६० हजार नजिक, दिनकै ३ हजार बढीले संक्रमित बढ्दै !