काठमाडौँ – नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेपछि सर्वत्र विरोध भएको छ।
नेपाली भूमि मिचेर सडक निर्माण गरी संचालनमा ल्याएपछि भारतको यस कदमको राजनीतिक पार्टी, नागरिक समाज, विद्यार्थी र सर्वसाधारण सम्पूर्णले विरोध गरिरहेका छन्।
यसै बीच शनिबार माइतीघरमा प्रदर्शन भएको छ। युवाहरुको उक्त समूहले माइतीघरमा भारतको विरोधमा नारावाजी गरेको हो। “ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ ; भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो” भन्दै नाराबाजी गरिरहेको उक्त समूहले माइतीघरमा धेरै समय प्रदर्शन भने पाएन। उक्त समूहलाई प्रहरीले त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गर्यो।
दूतावास अगाडि प्रदर्शन गर्ने ३३ विद्यार्थी पक्राउ
नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै त्यसको विरोधमा यहाँस्थित भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले यसरी प्रदर्शन गरेको जनाइएको छ । सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत पक्राउ परेका हुन् ।