“भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्न सक्ने, नेपालले आफ्नै भूमि नक्सामा राख्न नसक्ने?”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशालि नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले नेपाली भूमि मिचेर भारतले अन्तर्राष्ट्रिय कानुनविरुद्ध काम गरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले नेपाली भूमि भारतले मिच्नु अन्तर्राष्ट्रिय कानुन, असल छिमेकीको नीति र सभ्य समाजको विरुद्ध भएको बताएका हुन्।

नेपाली भूमिमा भारतीय गतिविधि भएको प्रति आपत्ति जनाउँदै उनले त्यस्ता कार्य तुरुन्त बन्द हुनुपर्ने र भारतीय सेना फिर्ता हुनुपर्ने स्पष्ट पारे। भारतीय सेनालाई फिर्ता पठाउन सरकारको तर्फबाट पनि उचित कदम नचालिएको प्रति आपत्ति जनाए।

नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्न नेपाल सरकारले के गरिरहेको छ ? भन्दै प्रश्न गरे। भारतले नेपालको भूमि राखेर नक्सा सार्वजनिक गर्दा नेपालले आफ्नो भूमि समावेश गर्दै नक्सा सर्वजनिक गर्न किन सकेन भन्ने पनि उनको प्रश्न थियो।

“भारतले आफ्नो भूमि नभएको ठाउँमा नक्सा प्रकाशन गर्ने अनि नेपालको आफ्नो भूमि राखेर नेपालको नक्सा प्रकाशित गर्न नेपाल सरकारलाई के गाह्रो भइरको छ ? त्यो गाह्रो यहाँ आओस्, यो सम्मानित संसदले त्यो गाह्रो फुकाउन अग्रसरता लिन्छ भन्ने मलाई विस्वास छ।”,उनले भने।

छिमेकीको संवेदनशीलतामाथि प्रश्न उठ्ने काम नगर्न आग्रह

भारतले नेपाली भूूमि लिपुलेक सम्पर्क सडकबाट जोडेकाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा सरकारको धारणा प्रस्तुत गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र सचिवस्तरीय संयन्त्रबाट सीमा विवाद अन्त्य गर्न पहल गरिरहेको सन्दर्भमा भारतले नेपाली भूमिमा सडक निर्माण गरेकामा देशभक्त नेपालीमा गम्भीर चिन्ता र चासो प्रकट भएको बताए ।

भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र नेपालको हो भनेर हाम्रो मान्यता पुष्टि गर्दै लगेको जानकारी दिँदै उनले भारतको ध्यानाकर्षण गराउन सरकारले पटकपटक ‘डिप्लोम्याटिक नोट’ पठाएको सदनलाई जानकारी गराए । नेपालले सीमा विवादको कूटनीतिक समाधान चाहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले छिकेकीका संवेदनशीलतामाथि प्रश्न उठ्ने काम नगर्न पनि भारतसँग आग्रह गरे।

“नेपालको वर्तमान सीमा सुगौली सन्धिबाट निर्दिष्ट भएको छ भन्ने नेपालको धारणा रहेको छ । सुगौली सन्धिले नेपालको सीमा निर्धारण गरेको हो । त्यसपछि अर्को कुनै सीमा सन्धि भएको छैन”, उनले भने, “नेपाल त्यही सुगौली सन्धि, नक्सा, ऐतिहासिक तथ्य, प्रमाण तथा नेपाली जनताले भोगचलन गरेको आधारमा यो समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छ ।”

उनले सीमा विवाद समाधान गर्न सबै खाले कूटनीतिक प्रयासलाई अघि बढाउने र नेपाली जनताको भावनाअनुसार राष्ट्रिय हित संरक्षणका लागि दृढतापूर्वक लड्ने विश्वास पनि दिलाए । सीमा अतिक्रमणका सम्बन्धमा नेपालका सबै राजनीतिक दलको चासोले सरकारलाई दृढताका साथ उभिन दरिलो साथ प्राप्त भएको उनले बताए ।

मन्त्री ज्ञवालीले भारतले सडक उद्घाटन गरेको खबर सार्वजनिक भएलगत्तै सरकारले शनिबार नै आफ्नो दृष्टिकोण सार्वजनिक गरिसकेको सदनलाई जानकारी दिए । सरकारले हिजो सार्वजनिक गरेको धारणालाई मन्त्री ज्ञवालीले सदनलाई पढेर सुनाएका थिए ।

प्रकाशित : आइतबार, बैशाख २८, २०७७०७:२९

किम कार्दशियनको यस्तो तस्विर बन्यो ट्रोल, कपालमा तेस्रो हात कसको,?