कञ्चनपुर- भारतको उत्तराखण्डको रुद्रपुर र काशीपुरका क्वारेन्टिनबाट निकालिएका १५० बढी नेपाली मजदुर भोकभोकै बस्न बाध्य भएका छन्। रुद्रपुरबाट झण्डै ९० किलोमिटर पैदल हिँडेर खटिमा पुगेका मजदुरलाई पुनः रुद्रपुर पुर्याएर छाडिएको जनाइएको छ।
सीमानाकामा प्रवेश पाउने आशामा ती मजदुर महाकाली नगरपालिकाको बाबाथान आउन थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले लखेटेर खटिमा पुर्याएको थिए। सो स्थानमा अलपत्र परेका ती मजदुरलाई भारतीय कंग्रेस आइका उत्तराखण्ड प्रदेशका सचिव भुवन कापरीले खानाको व्यवस्था मिलाएका थिए। शनिबार राति बसमा राखेर मजदुरलाई पुनः रुद्रपुर पुर्याइएको छ।
रातभरि खुला आकाशमुनि बस्नुपरेको मजदुरले बतएका छन्। ती मजदुरमा अधिकांश कञ्चनपुर, कैलाली र डडेल्धुराका बासिन्दा छन्। उनीहरुले आफूहरुलाई खानाको समस्या परेकाले उद्धार गरिदिन आग्रह गरेका छन्। अलपत्र मजदुरमा यहाँको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किशोर टमाटाकी गर्भवती श्रीमती कविता समेत छिन्।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भारतीय समकक्षीसँग नेपाली मजदुर अलपत्र परेका बारे समन्वयको काम भइरहेको जानकारी दिए।
उनले भने, ‘पहिले बसेकै क्वारेन्टिमै फर्काउनका लागि पहल भइरहेको जानकारी पाएको छु। दुवै देशको समझदारीमा सीमा प्रवेश दिने कुरा हो। भारतीय पक्षको नेपाली मजदुरलाई लगि दिएहुन्थ्यो भन्ने मनसाय रहेको पाएको छु।’