काठमाडौं । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ।
गत मंसिरमै नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको भए पनि लकडाउनका कारण ढिलाइ भएको थियो। भारतले यही शुक्रबार नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले तत्काल व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको बिओपी राख्ने भएको हो।
बुधबार व्यासको छाङ्गरुमा बिओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० का सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले जानकारी दिए। ‘गागामा सशस्त्र प्रहरी पठाएर बिओपी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने।
बुधबारसम्म हेलिकप्टरमार्फत बन्दोबस्तीको सामग्रीसहित सशस्त्र प्रहरी पठाउने तयारी छ। अहिलेलाई छाङ्गरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली खटाउने तयारी भएको विष्टले बताए। सशस्त्र प्रहरी पठाउनुपर्छ भन्दै पटकपटक जिल्लाबाट रिपोर्टिङ हुँदै आएको थियो। व्यासको छाङ्गरु गागामा सशस्त्र प्रहरीको बिओपी राख्न स्थानीयवासीले जमीनसमेत उपलब्ध गराएका छन्।
स्थानीयवासीले गागामा कित्ता नं ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमीन सशस्त्र प्रहरीलाई दिइसकेका छन्। बिओपी स्थापना हुने भन्दै सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाबाट गत चैत पहिलो साता निरीक्षणसमेत गरिएको थियो।
सशस्त्र प्रहरीको हेडक्वार्टरमार्फत गृहमा व्यासमा सशस्त्र प्रहरी पठाउने स्वीकृतका लागि पत्र गइसकेको सुरक्षा अधिकारीले जनाएका छन्। भारतले नेपाली भूमि भएर सडक निर्माणपछि सीमामा राज्यको उपस्थिति गराउनुपर्ने दबाब परेको थियो। अहिले नै भवन निर्माण गर्न सकिने अवस्था नभए पनि घर भाडामा लिएर सशस्त्र प्रहरी राख्ने तयारी भएको हो।
अहिले हिमपात पनि कम हुँदै गएका कारण सशस्त्र प्रहरी बस्न सक्ने अवस्था रहेको विष्टको भनाइ छ। यसअघि व्यासको तिङ्करको छायालेक र छागङ्रुको सीतापुलमा रहँदै आएका नेपाल प्रहरीका दुवै युनिट अहिले व्यास गाउँपालिका–२ को दुम्लिङ झरेको छ।
सशस्त्रसँगसँगै प्रहरी पनि व्यास पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले बताए। उनका अनुसार टोली तयारी अवस्थामा छ, हेलिकप्टर वा कुञ्चासँगै पठाउनेबारे छलफल भइरहेको छ। प्रजिअ यदुनाथ पौडेलले दुवै सुरक्षा निकायका एकसाथै पठाउँदा ठूलो टोली हुने भएकाले व्यवस्थापनबारे छलफल भइरहेको जानकारी दिए।