काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कविता मार्फत कटाक्ष गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कविता वाचन गर्दै नेता थापाले सरकारको काम-कारवाही र भारतसँगको सीमाविवादको विषयमा सरकारलाई कटाक्ष गरेका हुन्।
यस्तो छ सांसद थापाको कविता:
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको।
यस्तो सबल सरकार छ
सीमा कसले मिच्ने?
कोही छैनन् जोरी खोज्ने छैनन् कोही हेप्ने
सयौं कोस हिँड्दा पनि श्रमिक छैनन् आहात
गरिबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्
दु:ख, पीडा सुनाउने ती नेपाली नै होइनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन् ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा।
कोमल हृदयका प्रधानमन्त्री
आँसु कवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाऔंला
सारा नेपाल हाँसेको छ मेचीकाली गाउँछ
आँसु आए बरू त्यही गीतले आउँछ।
यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त साह्रो भाग्यमानी
म त साह्रै भाग्यमानी।