काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सीमामा पर्खाल र काँडेतार लगाउनुपर्ने बताएका छन्।
सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भारत-नेपाल सीमा विवादको विषयमा बोल्दै भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताएका हुन्। भारतसँग सधैँ विवाद गर्नुभन्दा भारतसँगको सिमानामा काँडेतार वा पर्खाल लगाएर नियन्त्रण गर्नु उचित हुने उनको धारणा छ।
भारत पक्षबाट सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने र सडक बनाउने जस्ता काम भइरहेको हुँदा सीमालाई अब नियन्त्रणमा राख्ने तर्फ योजना अगाडी बढाएर जानुपर्ने उनले बताए।
“जहाँ पनि समस्या पाइराखेको छ। सीमा मिच्ने काम भइराखेको छ। पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ। बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ। त्यसपछि हुँदाहुँदा त सुरक्षा फौजको तैनाथी र बाटो निर्माण पनि भयो। त्यसैले नियमन गर्ने काममा ध्यान दिन पर्यो। नियमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ। अझ सीमै पनि कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा जानै पर्ने भो।”,उनले भने। सीमाको विषयलाई लिएर सधैँ विवाद गर्नुभन्दा काँडेतार वा पर्खाल लगाएर नियन्त्रणमा राख्नुपर्ने उनले बताए।
“यदि विवादै सधैंभरी गर्नु छ भने त्यो भन्दा राम्रो त त्यसलाई कन्ट्रोल गर्ने उपाय के हुन सक्दछ। कन्ट्रोल गर्ने उपायमा जानु पर्यो। यसको निम्ति काँडेतार लगाएर हुन्छ की पर्खाल खडा गरेर हुन्छ, सधैँभरी विवाद गर्नुभन्दा त क्लियर गरिदिनु राम्रो हो।”,उनले भने।