काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडा पार्न निर्देशन दिएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो देखिएको भन्दै कडाईका साथ पालना गराउन निर्देशन दिएका हुन्।
सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको प्रधानमन्त्री ओलीको बुझाई छ। यसरी लकडाउन खुकुलो बनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
मन्त्रिपरिषद्को बैठकमा लकडाउन बारे छलफल गर्ने कुनै एजेण्डा नभएपनि ओलीले लकडाउन खुकुलो पारिएको विषय उठान गर्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
मन्त्रिपरिषद्को बैठकमा उनले ‘काठमाडौंमा लकडाउन छ र ?’ भन्ने अवस्था शिर्जना भएको भन्दै चिन्ता व्यक्त गरेको बताइएको छ। ओलीले लकडाउनका कडा बनाउन निर्देशन दिएसँगै मंगलबारबाटै लकडाउन कडा हुने सम्भावना रहेको छ।
आइतबार देखि सरकारी कार्यालय तथा अन्य क्षेत्रहरु खुलिरहेका छन्। साथै काठमाडौँ उपत्यकामा सवारी साधन चल्नको लागि टाइम कार्ड समेत लागू गरिएको छ। यातायात आवागमनलाई सहजीकरण गर्नको लागि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू गरिएको थियो।
सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् ।
सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लकडाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ । पहिले बिहान, साँझ मात्रै खुल्ने खाद्यान्नको पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि उपत्यकाका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ । कतिपयले सवारी साधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ ।