काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा विवादलाई लिएर जथाभावी नबोल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले सीमाबारे आफूखुसी जथाभावी नबोल्न पनि मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।
सीमा विवाद कुटनीतिक तवरले समाधान गरिनुपर्ने हुँदा मन्त्रीहरुले व्यक्तिगत रुपमा जथाभावी नबोल्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन छ।
सीमा विवादलाई लिएर केहि मन्त्रीहरुले मिडियामा दिएको अभिव्यक्तिको कारण चर्को आलोचना भएपछि ओलीको यस्तो निर्देशन आएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले एक मिडियासंग कुराकानी गर्नेक्रममा लिम्पियाधुरा ईतिहासदेखि नै नेपालको नक्शामा नभएको बताएकी थिइन्।
जसलाई लिएर उनको सर्वत्र आलोचना भएको थियो। नेपालमा प्रचलनमा रहेको कुनै पनि नक्सामा लिम्पियाधुरा नभएको उनको भनाई पार्टी भित्रैबाट पनि खण्डित भएको छ। सोमबार मात्र संसदको एक समितिमा नेकपाका प्रभावशाली नेता भीम रावलले कडा आलोचना गरेका थिए।
यस्तै प्रधानमन्त्रीले लकडाउनलाई कडा पार्न पनि निर्देशन दिएका छन्। ओलीले लकडाउन खुकुलो देखिएको भन्दै कडाईका साथ पालना गराउन निर्देशन दिएका हुन्।
सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको प्रधानमन्त्री ओलीको बुझाई छ। यसरी लकडाउन खुकुलो बनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।
मन्त्रिपरिषद्को बैठकमा लकडाउन बारे छलफल गर्ने कुनै एजेण्डा नभएपनि ओलीले लकडाउन खुकुलो पारिएको विषय उठान गर्दै असन्तुष्टि व्यक्त गरेका थिए।