काठमाडौँ – एक हजार आठ सय ८० किलोमिटर लामो खुला सिमानामा भारतले लगातार अतिक्रमण बढाउँदा निगरानी गर्न नेपालले पर्याप्त जनशक्ति खटाउन सकेको छैन । भारतले प्रत्येक तीन किलोमिटरमा बोर्डर आउट पोस्ट (बिओपी) राख्दा नेपालले १५ किलोमिटरको अन्तरमा मात्र यस्ता पोस्ट राखेको छ । सीमारक्षकको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको जनशक्ति भिआइपीको अगुवा–पछुवाका रूपमा ठूलो संख्यामा खटाइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।
भिआइपी मात्र होइन, आमनागरिकको सुरक्षा पनि राज्यको जिम्मेवारी हो । तर, नेपालमा कसलाई कति सुरक्षा चुनौती छ भन्ने मूल्यांकन गरिएको छैन । सुरक्षा जोखिम भए ६–६ महिनामा मूल्यांकन गरेर सुरक्षाकर्मी थपघट गर्नुपर्ने मापदण्ड छ । तर, पहुँचका भरमा विगतमा खटाइएको सुरक्षा जनशक्ति वर्षौंसम्म फिर्ता गरिएको छैन ।
पूर्वप्रधानमन्त्रीलाई ५–६ जना तथा पूर्वगृहमन्त्रीलाई दुईजना सुरक्षाकर्मी दिए पुग्ने गृह मन्त्रालयको आन्तरिक मूल्यांकन छ । तर, पूर्वराजादेखि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वमन्त्री, अवकाशप्राप्त सुरक्षाकर्मी तथा केही पहुँचवाला व्यक्तिको घरमा कम्तीमा एक हजार सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयकै तथ्यांक छ ।
सुरक्षाका नाममा दुरुपयोग भएको जनशक्ति तानेर सीमामा पठाउन सकिए करिब २५ बोर्डर आउट पोस्ट (बिओपी) थप्न सकिन्छ । सीमामा अहिले सशस्त्रका पाँच हजार जनशक्ति परिचालन छ, जब कि भारततर्फ नेपालको भन्दा पाँच गुणा धेरै जनशक्ति छ । नेपालको कमजोर उपस्थितिका कारण नै अतिक्रमण मात्र होइन, नाकाबाहिरबाट नेपाल छिर्ने क्रम अहिले पनि रोकिएको छैन ।
पूर्वराजा र राजपरिवारको सुरक्षामा अहिले पनि सशस्त्रका एक सयजनाको फौज परिचालन भएको छ । सशस्त्रको समूहले पूर्वराजा ज्ञानेन्द्र मात्र होइन, पूर्वयुवराज्ञी हिमानीको पनि सुरक्षा गर्दछ । राजपरिवारको सुरक्षा आवश्यक भए पनि सयजना केका आधारमा खटाइएको हो भन्ने कुनै मूल्यांकन छैन ।
पूर्वप्रधानमन्त्रीहरूमध्ये सबैभन्दा ठूलो समूह पुष्पकमल दाहाल, ‘प्रचण्ड’को सुरक्षामा खटिएको छ । उनको सुरक्षामा सशस्त्र प्रहरीका ४८ सुरक्षाकर्मी परिचालित छन् । त्यस्तै डिएसपीको नेतृत्वमा नेपाल प्रहरीको छुट्टै समूह पनि उनको सुरक्षामा खटिएको छ ।
सशस्त्र प्रहरीको तथ्यांक भन्छ– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा १४, माधवकुमार नेपालको सुरक्षामा १३, लोकेन्द्रबहादुर चन्दको सुरक्षामा १०, झलनाथ खनालको सुरक्षामा नौ र डा. बाबुराम भट्टराईको सुरक्षामा आठ सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सुरक्षामा सशस्त्रका नौ सुरक्षाकर्मी खटिएका छन् ।
त्यस्तै, पूर्वगृहमन्त्रीहरूले पनि ठूलो संख्यामा सुरक्षाकर्मी लगेका छन् । सशस्त्र प्रहरीका अनुसार पूर्वगृहमन्त्री वामदेव गौतमले १३, कमल थापाले १३, नारायणकाजी श्रेष्ठ १२, विमलेन्द्र निधिले ११ र कृष्णप्रसाद सिटौलाले सशस्त्रका ११ सुरक्षाकर्मी आफ्नो सुरक्षामा परिचालन गरेका छन् । त्यस्तै पूर्वगृहमन्त्रीका रूपमा रामचन्द्र पौडेलले १०, जनार्दन शर्माले १०, भीम रावलले नौ र विजयकुमार गच्छदारले तीन सुरक्षाकर्मी पाएका छन् । त्यस्तै, पूर्वमन्त्री प्रकाशमान सिंहको सुरक्षामा ११, डा. प्रकाशशरण महतको सुरक्षामा ६ र डा. रामशरण महतको सुरक्षामा पाँच सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्रको तथ्यांक छ ।