बाँके – जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ ।
भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेकोे एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी खोलामा खसेको प्रहरीले जनाएको छ ।
एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहितकी नवजात, उनका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परी घाइते भएकाहरुकोे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र ती खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
घुस लिएको अभियोगमा मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ हजार घुस लिएको अभियोगमा पचरौता नगरपालिका बारामा कार्यरत कार्यालय सहयोगी धु्रव महत्तो नुनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नुनियाले एक विकास आयोजनाको कागजात मिलाइदिने भन्दै रु १५ हजार घुस लिएको अभियोग आयोगले लगाएको छ । आयोगले आरोपी नुनियालाई बिगोबमोजिमको सजायको माग गरी आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण प्रसारण ग्रीड महाशाखा हेटौँडामा कार्यरत इलेक्ट्रिसियन विश्वनाथ पुडासैनीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।