काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतलाई कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन्।
बुधबार बसेको सर्वदलीय बैठकमा ओलीले लिपुलेकमा भारतले खनेको सडक भाडामा दिन सकिने भएपनि भूमि छोड्न भने नसकिने बताएका हुन्।
बैठकमा क्रममा प्रधानमन्त्रीले नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषयलाई अन्तर्राष्ट्रिय अदालत लैजाने भन्दा पनि कुटनीतिक तवरले मिलाउनुपर्नेमा जोड दिए। सर्वदलीय बैठकको क्रममा ओलीले मानसरोवर जानका लागि कतिपय सडक स्थानीयले नै खनेको पनि हुन सक्ने बताएको बुझिएको छ।
बैठकमा कांग्रेसले तत्काल भारतसँग नेपाली भूमिमा भएको अतिक्रमणको विषय उठाएर छलफल थाल्न सुझाव दिएको बताइएको छ। यता नेपाल मजदुर किसान पार्टीले भने प्रधानमन्त्रीलाई नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषयलाई तत्काल अन्तर्राष्ट्रिय अदालत लैजान सुझाव दिएको थियो। मजदुर किसान पार्टीले एमसिसी पारित गर्न नहुने सुझाव समेत दिएको थियो।
यता समाजवादी जनता पार्टीले पनि नेपाली भूमि छाड्ने कुरा नआउने बताएको थियो। समाजवादी जनता पार्टीले मधेसी जनताले नै सीमामा पहरेदारको भूमिका निर्वाह गरेको उल्लेख गर्दै समाजवादीले तत्काल नेपाली भूमि सहितको नक्सा सार्वजनिक गर्न ओलीलाई सुझाव दिएको थियो।