काठमाडौँ – काठमाडौँ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ। बिहिबार तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै काठमाडौँमा संक्रमितको संख्या ९ पुगेको हो।
बिहिबार काठमाडौँमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, काठमाडौँ चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष तथा त्रिवि शिक्षण अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीय बालिकामा कोरोना संक्रमणको पुष्टि भएको छ। यस अगाडी मंगलबार चन्द्रागिरि नगरपालिकामै एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। मंगलबार कोरोना संक्रमण पुष्टि हुनेमा चन्द्रागिरि नगरपालिका ९ की ३३ वर्षिया महिला थिइन्।
काठमाडौँमा सबै भन्दा पहिला माघ ८ गते चीनबाट आएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको थियो। उनी नेपालकै पहिलो संक्रमित पनि हुन्। यस्तै त्यसपश्चात चैत १०मा फ्रान्सबाट आएकी १९ वर्षकी महिला, चैत १२ गते ३२ वर्षीय दुबईबाट आएका पुरुष, वैशाख २ गते बेलायतबाट आएका ५८ वर्षीय पुरुष, ८१ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको थियो। जसमध्ये सबै जना निको भएर घर फर्किसकेका छन्।
उपत्यकाको अर्को जिल्ला भक्तपुरमा समेत संक्रमित फेला परेपछि उपत्यकामा कुल संक्रमितको संख्या ११ पुगेको छ। मंगलबार भक्तपुरमा २७ वर्षीय सशस्त्र प्रहरी र एक स्टाफ नर्स महिलामा कोरोना पुष्टि भएको थियो।