नेयमर युभेन्टसमा ?

एजेन्सी – ब्राजिली स्टार नेयमार पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट क्याटलान क्लब बार्सिलोना फर्कनको पछिल्लो समय प्रयासरत छन्। उनी बार्सिलोना फर्कनको लागि आफ्नो पारिश्रमिक ५० प्रतिशत कटौती गर्न समेत तयार रहेका छन्। उता बार्सिलोना पनि नेयमारलाई फिर्ता ल्याउन उत्तिकै आतुर छ। तर, कोरोना भाइरस सङ्कटका कारण क्लबलाई परेको आर्थिक समस्याले भने बार्सिलोनालाई नेयमार फिर्ता ल्याउन धेरै गार्हो हुने अवस्था छ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वका फुटबल क्लबहरु आर्थिक संकटको सामना गरिरहेका छन्। जस मध्ये बार्सिलोना पनि एक हो। यस कारण नेयमारको स्थानान्तरण हुने सम्भावना न्यून बन्दै गएको छ। यधपी बार्सिलोना नेयमारलाई फिर्ता ल्याउने प्रयास सजिलै त्याग्ने मनस्थितिमा भने छैन।

हालसालै बाहिरिएको एक समाचारका अनुसार नेयमार फिर्ता ल्याउन बार्सिलोनालाई थप गार्हो हुने देखिएको छ। समाचारका अनुसार नेयमार माथि इटालियन क्लब युभेन्टसको पनि नजर छ। नेयमारलाई आफ्नो क्लबमा ल्याउन युभेन्टसले पेरिस सेन्ट जर्मेन (पीएसजी) सामू आकर्षक प्रस्ताव राख्न लागेको बताइएको छ।

अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला सहितको प्रस्ताव युभेन्टसले अघि सार्न लागेको र त्यसले बार्सिलोनालाई धेरै गार्हो पार्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्। युभेन्टसले २५ वर्ष देखि च्याम्पियन्स लिग जित्न सकेको छैन। पाँच सिजनमा दुई पटक फाइनल पुगेर पनि ट्रफी जित्न नसकेको हुँदा युभेन्टसले क्रिस्टियानो रोनाल्डोको लागि उत्कृष्ट जोडी खोजिरहेको बताइन्छ।

प्रकाशित : शुक्रबार, जेठ ०२, २०७७१२:०३

डर्टमुन्डको सानदार जित, एर्लीङ हालान्डको उच्च लय कायमै !