सर्लाही – सीमावर्ती गाउँ मधुवन गोठबाट ह-तियारसहित दुई जना पक्राउ परेका छन् ।
विष्णु गाउँपालिका–४ मधुवन गोठबाट दुई थान ह-तियारसहित एक भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार राज्य सीतामढी जिल्लाको मुरहा निवासी करिब २६ वर्षीय अनिष साह मुसलमान र विष्णु गापा–४ मधुवन गोठका २५ वर्षीय मदनकुमार साह कानु रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुबाट एक थान चाइनिज पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गो-ली बरामद गरेको छ । त्यस्तै एक थान देशी नलकटुवा र त्यसमा लाग्ने एक थान गो-ली बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुराकीका आधारमा प्रदेश नं २ को विशेष टोली, मधुवन गोठ र बराउधोर प्रहरी चौकीको संयुक्त टोलीले घेरा हाली दुवै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दुवै जना कैयौँ आपराधिक घटनामा संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।