काठमाडौँ – भारतले नेपाली भूमि पटक-पटक मिचिरहेको अवस्थामा सीमामा पर्खाल अथवा काँडे तार लगाउनुपर्ने माग उठ्न थालेको छ। सीमाका काँडेतार लगाउन जनस्तरबाट मात्र नभई राजीनितिक दल र नेताहरुले आवाज उठेको छ। तर, राष्ट्रिय जनता पार्टीका एक नेताले पनि सीमामा तारबार लगाउनु नहुने बताएका छन्।
भारतसँगको सीमामा काँडेतार लगाउन नहुने बताउने राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादव हुन्। सोमबार आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको बताए।
“सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो नेपालको राष्ट्रियताको लागि, मधेसको जनताको लागि हितकर छैन”,उनले भने।
यस्तै उनले नेपाल र भारतका बीचमा रहेका सीमा समस्याहरुमध्ये ९८ प्रतिशत मिलिसकेको पनि दावी गरे। नेपाल र भारत बीच केहि स्थानमा मात्र समस्या रहेको हुँदा त्यसलाई पनि छिट्टै टुंग्याउनु पर्ने बताए। भारत र नेपाल बीच अब कालापानी र सुस्तामा मात्र सीमा विवाद रहेको र त्यसलाई पनि छुट्टै टुंग्याउनु पर्ने उनको भनाई छ।
“दुवै देशका बीचमा ९८ प्रतिशत सहमति भइसकेको विषयमा दुइटै देशले हस्ताक्षर किन गर्दैन ? अब बाँकि रहेको समस्या कालापानी र सुस्तामा मात्रै छ। त्यसमा पनि छुट्टै सहमति हुन आवश्यक छ।”,उनले भने।
‘जनताको हर्षको आँशु नीति तथा कार्यक्रममा देख्न सकिन्छ’
सङ्घीय सरकारले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनताको राष्ट्रिय आवश्यकता र जनताको आवश्यक सान्दर्भिकताको विषय समेटेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले त्यसको स्वागत गरेका छन् ।
प्रतिपक्षी दलका सांसदले भने कोभिड–१९ को महामारीबाट राष्ट्र र जनतालाई बचाउने प्रभावकारी कार्य तथा आर्थिक सुधार र रोजगारी अभिवृद्धि गर्ने कार्यक्रम आउन नसकेको भन्दै नीति तथा कार्यक्रमको आलोचना गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत गरेको आव २०७७÷०७८ को नीति तथा कार्यक्रम कोभिडको महामारीबाट मुलुकलाई मुक्त गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ केन्द्रित रहेकोले सत्तारुढ दलका सांसदहरुले त्यसको समर्थन गरे ।
राष्ट्रियसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सहभागी सांसदले नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयनतर्फ सबै एकताबद्ध भएर लाग्नुपर्नेमा पनि सुझाए ।
नेकपाका सांसद खिमलाल भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अहिलेको राष्ट्रिय आवश्यकता र जनताको आवश्यकतालाई सम्बोधन गरेको बताए। सर्वोपरी हित प्रवद्र्धनका विषयलाई समेटिएकाले जनताको हर्षका आँशु नीति तथा कार्यक्रममा देख्न सकिने उनको भनाइ छ । प्रतिपक्षी दलका सांसदले नीति तथा कार्यक्रममा सपना बाँडेको भनी गरेको टिप्पणीको कटाक्ष गर्दै सांसद भट्टराईले भने, “प्रतिपक्षीले भनेजस्तै सपना हो । किनकी यो सपना राष्ट्र र जनताको आवश्यकता पनि हो । हामीलाई कहिलेकाहीँ लाग्थ्यो लोडसेडिङमुक्त होला भनेर अहिले त्यो सपना पूरा भएको छ । हिजो सडकमा नागरिक बेवारिसे अवस्थामा हुन्थे आज सडक मानवमुक्त भएको छ । यो पनि एउटा सपना थियो । त्यो पनि पूरा भएको छ ।”
उनले देश तुइनमुक्त र खुला दिशामुक्त भएको, काठमाडौँका सडक चिल्ला र खाल्डाखुुल्डीरहित भएको उदाहरण दिँदै उनले सपना देखाउनेसँग प्रतिबद्धता भए पूरा हुन्छन् भन्ने उदाहरण नीति तथा कार्यक्रमले समेटेको छ भने। कृषि, पर्यटन र ऊर्जाकालगायत उद्योगको विकास गरी राष्ट्रको क्षमता अभिवृद्धि गर्न नीति तथा कार्यक्रमले समेटेको, भूमिहीन, गरिब सुकुम्बासी जनतलाई जमिन उपलब्ध गराउने विषय सम्बोधन भएको, वर्तमान कोभिडको सङ्कटमुक्त बनाउन र स्वास्थ्य क्षेत्रको बृहत्तर सुधारमा गरिएको सङ्कल्प र योजनालाई विशेष जोड दिइएको उनको दाबी छ ।