भारतले अतिक्रमण गरेका भूमि समेटिएको नेपालको नक्सा पारित !

काठमाडौँ – कालापानी-लिम्पियाधुरा सहित भारतले मिचेको सम्पूर्ण भूमि सहितको नक्सा मन्त्रिपरिषद्बाट पारित भएको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर तयार पारिएको नक्सालाई पारित गरेको हो।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा तयार पारेको थियो। मन्त्रिपरिषद्बाट पारित भएसँगै नक्सा सार्वजनिक गर्ने तयारी गरिएको छ।

धेरै समय देखि नेपालको नक्सामा लिम्पियाधुरासहितका क्षेत्र गायब छन्। राणा काल र पन्चायतकालदेखिनै नक्सामा नसमेटिएको उक्त भूभाग नक्सामा उतारेर सार्वजनिक गरी कुटनीतिक रुपमा भारतसँग दावी गर्ने सरकारको तयारी छ।

कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायतका नेपाली भूमिमा भारतले सेना राखेर अतिक्रमण गर्दै आएको छ। भारतले नेपालको भूमि मिचेर बनाएको सडक हालसालै उद्घाटन समेत भइसकेको छ।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७१४:१४

पश्चिम बङ्गालमा लकडाउनको स्वरुप परिवर्तन गरिने !