काठमाडौँ – चीनले नेपाल र भारत बीच रहेको सीमाविवाद आपसी संवादबाट हल गर्नुपर्ने बताएको छ। पछिल्लो समय नेपाल र भारत बीच चर्किएको सीमा विवाद बारे मुख खोल्दै चीनले आपसी संवादबाट हल गर्न सुझाव दिएको हो।
मंगलबार नियमित पत्रकार सम्मेलनमा बोल्नेक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले कालापानी-लिपुलेक विवाद भारत र नेपाल बीचको मुद्दा रहेको हुँदा दुई देशले मिलाउनुपर्ने बताए।
संचारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उनले सीमा विवाद दुई देशको आपसी सम्वादबाट हल हुने चीनको विश्वास रहेको उनको भनाई छ।
“कालापानीको मुद्दा नेपाल र भारतको हो। मैत्रिपूर्ण संवादबाट उक्त विवादको हाल हुन्छ भन्ने हाम्रो विश्वास छ।”,उनले भने। स्थितिलाई जटिल बनाउन सक्ने एकपक्षीय कदमबाट दुवै देश टाढा हुनुपर्ने पनि उनले बताए।
नेपाली भूमि कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेर उद्घाटन गरेपछि नेपाल र भारत बीच सीमा विवाद चर्किएको छ। भारतले मिचेका नेपाली भूमि कालापानी-लिपुलेक-लिम्पियाधुर लगायतका क्षेत्र समेटेर नेपाल सरकारले नक्सा पनि सार्वजनिक गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै सदनमा सम्बोधन गर्दै नेपालको भूमि कुनै पनि हालतमा छाड्न नसकिने बताइसकेका छन्। नेपाल विश्व इतिहासमै गुलाम नभएको मध्येको एक राष्ट्र रहेको हुँदा अब पनि कसैको सामू नझुक्ने ओलीले स्पष्ट रुपमा बताइसकेका छन्। सरकारको कार्यकालको आगामी तीन वर्षभित्र ती नेपाली भूमि जुनै पनि हालतमा फिर्ता ल्याइने ओलीको भनाई छ।