“मनिषाले श्रम बेचेकी हुन् स्वाभिमान होइन, नसच्चिए भारतीय गीत र च्यानल माथि रोक लगाइनुपर्छ”

Actress Manisha Koirala Photo: Dinesh Gole/Nagarik/Republica

काठमाडौँ – विप्लव नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नायिका मनिषा कोइरालालाई लिएर भारतीय मिडियाहरुले गरेको दुष्प्रचारको भत्र्सना गरेको छ ।

बिहिबार खिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेल थपलियाले एक विज्ञप्ति जारी गर्दै मनिषा कोइराला विरुद्ध भारतीय मिडियाले गरिरहेको दुष्प्रचार प्रति खेद प्रकट गरेका हुन्।

भारतको चलचित्र उद्योगमा आफ्नो श्रम र सीप खन्याएकी मनिषाको देशभक्तिपूर्ण अभिव्यक्तिका विरुद्ध प्रचारबाजी गर्नु प्रजातन्त्रको खिलाफ हुन जाने महासङ्घको ठहर छ।

“भारत आफूलाई प्रजातन्त्रको लामो अभ्यास गरेको विश्वको सबैभन्दा ठूलो देश ठान्दछ तर उसको चित्त सारै सानो देखिन्छ । ऊ श्रमको सम्मान गर्न जान्दैन । ऊ अरूको देशभक्तिको झङ्कारलाई बेमतलब गर्दछ । उसलाई आफ्नै अहङ्कारले खोक्रो बनाउँदै लगेको छ । त्यसैले त ऊ मनीषा कोइरालाहरूलाई अपमान गर्दछ ।”,विज्ञप्तिमा भनिएको छ।

भारतीय मिडियाले मर्यादाको सीमाबाहिर गएर नेपालविरुद्ध विषवमन गर्ने र भारतमा श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गरेको प्रति पनि महासङ्घको आपत्ति छ। यस्तै ‘श्रम बेच्नु हुन्छ तर स्वाभिमान बेच्नु हुँदैन’ भन्ने मनीषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई स्पष्ट पारेको महासङ्घको भनाई छ।

“मनीषा कोइरालालाई सङ्कीर्ण मानसिकताले भरिएका भारतीय मिडियाले लगाएको आरोप भत्र्सनायोग्य छ । नेपाली छोरीले नेपालको माया गर्न नपाउने ? ‘श्रम बेच्नु हुन्छ तर स्वाभिमान बेच्नु हुँदैन’ भन्ने मनीषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको छ । हामी बलिउड नायिका मनीषा कोइरालामा जीवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहन्छौँ ।”,विज्ञप्तिमा भनिएको छ।

यस्तै महासङ्घको भारतीय मिडियाहरु नसच्चिए नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउन र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउनु पर्ने पनि बताएको छ।

प्रकाशित : बिहिबार, जेठ ०८, २०७७०६:५९

जोखिम मोलेर अहोरात्र खट्ने एम्बुलेन्स चालकले बाटोमा पानी पनि पिउन नपाउने!