काठमाडौँ – कोरोना भाइरस संक्रमण फैलिने क्रम बढेपछि सरकारले काठमाडौँ उपत्यकालाई पूर्ण रुपमा सिल गर्ने भएको छ। सरकारले उपत्यका प्रवेशमा निषेध सम्पूर्ण नाकामा कडाई गर्दै काठमाडौँ उपत्यकालाई पूर्ण रुपमा सिल गर्ने भएको हो।
गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिसकेको छ।
जेठ १ गते गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, गृह सचिव र सुरक्षा निकायका प्रमुखलगायतको बैठकले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय गरेको थियो। सोहि निर्णयलाई कडाईका साथ लागू गराउन गृह उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको हो।
अत्यावश्यक काममा बाहेक काठमाण्डौं उपत्यका प्रवेश गर्ने सवारी तथा व्यक्तिलाई नाकामै रोक्न गृहको निर्देशन छ। यस्तै गृहले निर्देशन दिएसँगै अब देखि काठमाण्डौ उपत्यका प्रवेशको लागि अनुमति चाहिने व्यक्तिले आफने खर्चमा आरडीटी परीक्षण गर्नुपर्ने छ।
“नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाण्डौ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वरेण्टीन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वरेण्टीन प्रयोजनका लागि लागन संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने”,गृहद्वारा बुधबार सम्पूर्ण स्थानीय तहलाई पत्र पठाउँदै भनेको छ,”काठमाण्डौ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफने खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाण्डौ उपत्यका प्रवेश अनुमतिका लागि माग गर्ने ।”