विकिपेडियामा सच्चियो नक्साअनुसार नेपालको क्षेत्रफल, गुगल सर्चमा पनि देखाउन थाल्यो !

काठमाडौँ – लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ ।

अध्यावधिक नक्सा सार्वजनिक भएसँगै राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण राख्न देशको सिमानाको स्पष्ट अभिलेख प्राप्त हुने नेपाल र नपालीका लागि महत्वपूर्ण उपलब्धि बन्न पुगेको छ ।

विगतमा नेपालको नक्सामा छुटेको गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटी कालीनदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक, राजनीतिक, प्रशासनिक नक्सा सार्वजनिक गरिएको हो । नयाँ नक्सा सार्वजनिक भएसँगै नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ ।

नयाँ नक्सा सार्वजनिक भएसँगै नेपालको क्षेत्रफल बढेको छ। यस अगाडी भन्ने गरिएको नेपालको १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर अब बढेर १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर पुगेको छ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै विकिपेडियामा पनि सच्चिएको तथ्यांक देखिन थालेको छ। विकिपेडियामा सच्चिएसँगै गुगल सर्चमा पनि नेपालको नयाँ नक्सा अनुसारको क्षेत्रफल देखाउन थालेको छ। यस अगाडी नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर देखिने गरेको भएपनि अब गुगलमा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्गकिलोमिटर देखिन थालेको छ।

प्रकाशित : शुक्रबार, जेठ ०९, २०७७०६:४३

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषदको निर्णय