काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कालापानी-लिपुलेक विवादमा भारतीय राज्यपक्षबाट आएका प्रतिक्रियाहरू लज्जाजनक र आपत्तिजनक भएको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष श्यामल अधिकारी र वरिष्ठ समाचारदाता प्रकाश सिलवालसँग कुराकानी गर्दै रक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन्।
कालापानी, लिपुलेक, लिम्यियाधुरा तथा नेपाली भूमिको विषयमा नेपाललाई कसैले उचालेको भन्दै भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले दिएको अभिव्यक्तिलाई रक्षामन्त्रीले अपमानजनक अभिव्यक्ति भनेका छन्।
“हामी आधिकारिक कूटनीतिक वार्ताबाट समस्याको समाधान गर्न प्रस्ताव गरिरहेका छौँ । यहीबीचमा भारतीय राज्यपक्षका प्रतिक्रियाहरू लज्जाजनक र अझ आपत्तिजनक ढंगले आएको देखिएका छन् । स्वाभिमानी नेपालीका लागि त्यस्ता अभिव्यक्ति अपमानजनक र आपत्तिजनक छन्।”,उनले भने।
नेपाल विश्व इतिहासमा कसैको गुलाम नभएको देशलाई कसैको उक्साहटमा लागेकोे भन्ने कुरा विवेक गुमाएकाहरुले मात्र भन्न सक्ने उनको रक्षामन्त्रीको तर्क छ।
भारतीय सेनापतिले नेपाल बारे यस्तो टिप्पणी गरेर भारतको सुरक्षाका लागि आफ्नो ज्यान अर्पण गर्ने नेपाली गोर्खा सैनिकको भावनाको अपमान गरेकोे रक्षामन्त्री बताउँछन्।
“विश्वलाई थाहा छ, नेपाल विश्व इतिहासमा कसैको गुलाम नभएको देश हो । यस्तो देशलाई कसैको उक्साहटमा लागेकोे भन्ने कुरा विवेक गुमाएकाहरुले मात्र भन्न सक्छन् । जुनसुकै पृष्ठभूमि र प्रसङ्गमा आएको भए पनि त्यस्ता अभिव्यक्तिले सार्वभौम तथा स्वतन्त्र राष्ट्र नेपाल र स्वाभिमानी नेपालीको अपमान गर्ने दुष्प्रयास गरेका छन् । त्यो निन्दनीय छ ।”,अन्तर्वार्तामा उनले भनेका छन्।
रक्षामन्त्रीले अन्तर्वार्तामा भारतीय सेनापति बारे दिएको प्रतिक्रियाको सम्पादित अंश निम्न छ –
हालै भारतीय सेनापतिले नेपालबारे दिएको आपत्तिजनक अभिव्यक्तिका सम्बन्धमा हाम्रो तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया किन नआएको ?
हामी आधिकारिक कूटनीतिक वार्ताबाट समस्याको समाधान गर्न प्रस्ताव गरिरहेका छौँ । यहीबीचमा भारतीय राज्यपक्षका प्रतिक्रियाहरू लज्जाजनक र अझ आपत्तिजनक ढंगले आएको देखिएका छन् । स्वाभिमानी नेपालीका लागि त्यस्ता अभिव्यक्ति अपमानजनक र आपत्तिजनक छन् । विश्वलाई थाहा छ, नेपाल विश्व इतिहासमा कसैको गुलाम नभएको देश हो । यस्तो देशलाई कसैको उक्साहटमा लागेकोे भन्ने कुरा विवेक गुमाएकाहरुले मात्र भन्न सक्छन् । जुनसुकै पृष्ठभूमि र प्रसङ्गमा आएको भए पनि त्यस्ता अभिव्यक्तिले सार्वभौम तथा स्वतन्त्र राष्ट्र नेपाल र स्वाभिमानी नेपालीको अपमान गर्ने दुष्प्रयास गरेका छन् । त्यो निन्दनीय छ । त्यस्तो अभिव्यक्ति नेपालको इतिहास, यहाँको समाजको चरित्र र स्वाधीनतालाई नबुझ्ने खालको अपमानजनक अभिव्यक्ति हो । यसबाट भारतीय सेनापतिले भारतको सुरक्षाका लागि आफ्नो ज्यान अर्पण गर्ने नेपाली गोर्खा सैनिकको भावनाको अपमान गरेकोे देखिन्छ । अब उहाँहरुलाई ती गोर्खाली फौजको सामुन्ने आँखामा आँखा जुधाएर कुरा गर्न अप्ठ्यारो हुनुपर्ने हो । नेपाली जनता आफ्नो आत्माबाट बोल्छन् र उसलाई कसैको उक्साहटमा बोल्नु जरुरी छैन भन्ने कुरा तिनले पनि बताइदिनेछन् ।
वास्तवमा भारतीय सेनापतिको अभिव्यक्ति राजनीतिक वक्तव्यबाजी जस्तो देखिन्छ । सेना प्रमुख राजनीतिक अभिव्यक्तिमा लाग्नु कति व्यावसायिक हो ? हामीकहाँ यस्तो अभ्यास छैन । त्यसैले त्यस्ता विषयमा नेपाली सेनाले ओठे जवाफ दिँदैन । सेनाले बोल्ने होइन । नेपाली सेना पूर्णतः व्यावसायिक संगठन हो । उसले संविधानअनुसार सरकारले दिने निर्देशका आधारमा उपयुक्त समयमा आफ्नो भूमिका निर्वाह गर्ने नै छ ।
हाम्रो सेना संविधानले निर्देशित गरेबमोजिम सरकारले दिएको जिम्मेवारीमा तैनाथ र परिचालित हुन्छ । परिआए लड्छ । हामीलाई राष्ट्रिय सेनाको क्षमता, निष्ठा र व्यावसायिकतामा पूर्ण भरोसा र विश्वास छ । सेना मात्र होइन, परिआए नेपाली जनता नै राष्ट्रका सिपाही हुन् भन्ने कुरा मित्रहरूले बुझेकै हुनुपर्ने हो । नेपाली सेनालाई यस्ता विषयमा बोलेन भनेर विवादमा ल्याउन सकिन्छ कि भनेर गरिएका टिप्पणीप्रति पनि हामी राम्रै जानकार छौँ । हामीले संयम र धैर्यका साथ काम गर्नुपर्छ । भारत मित्रराष्ट्र हो । शान्तिपूर्ण राजनीतिक वार्ता र कूटनीतिक माध्यमबाट गुमेको नेपाली भूमि फिर्ता गर्नुपर्छ र गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।