अस्पतालमा उपचाररत बिरामीमा कोरोनाको पुष्टि, सेवा स्थगित !

काठमाडौँ – महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरले मुटुरोग सेवा स्थगित गरेको छ।

अस्पतालमा उपचार गराइराखेका एक व्यक्तिमा कोरोनाको पुष्टि भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरले मुटुरोग सेवा स्थगित गरेको हो।

शुक्रबार उक्त अस्पतालमा उपचाररत मकानपुर स्थायी ठेगाना भएकी ५४ वर्षीय महिलामा कोरोनाको पुष्टि भएको थियो। हाल उनलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना उपचार कक्ष लेभल थ्रीमा राखिएको छ।

उपचाररत बिरामीमा कोरोनाको पुष्टि भएपछि उनको सम्पर्कमा आएका चिकित्सक र नर्स तथा अन्य कर्मचारी गरी ३ दर्जन बढीलाई क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ।

अस्पतालका अनुसार मुटुरोगको ओपिडीसँगै क्याथ ल्याबसमेत बन्द गर्ने तयारी भइरहेको छ। बिरामीको सम्पर्कमा आएका चिकित्सकलाई मात्र नभई
ती चिकित्सकहरुको सम्पर्कमा आएकाहरुलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी गरिएको अस्पतालको भनाई छ।

प्रकाशित : शनिबार, जेठ १०, २०७७११:५४

कोरोना कहरमा नहराएको मानवीयता