काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण नेपालमा चौंथो मृत्युको पुष्टि भएको छ। केहि दिन अगाडी नै मृत्यु भइसकेका एक व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालले जनाएको छ। काठमाडौँ टेकु स्थित राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणले ती वृद्धमा कोरोनाको पुष्टि भएको हो। कोरोना पुष्टि हुनेमा बाराका ७० वर्षीय वृद्ध रहेका छन्।
वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
क्षयरोग, दम र निमोनियाबाट ग्रसित उनलाई परिवारजनले जेठ २ गते नेशनल मेडिकल कलेजमा भर्ना गराएका थिए भने उनको उपचारकै क्रममा उनको जेठ ४ गते राति मृत्यु भएको थियो।
स्वाब संलगन गरिएपनि परीक्षणको रिपोर्ट नआउँदै उनको शव अस्पतालले परिवारलाई जिम्मा लगाएको थियो। मृतकका आफन्तले उनको अन्त्येष्टि गरिसकेका छन्।
मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि वीरगन्जस्थित नेशनल मेडिकल कलेजले गम्भीर लापरबाही गरेको खुलेको छ। कोरोना संक्रमणको रिपोर्ट नआई शव बुझाएको विषयमा स्थानीय प्रशासनले अनुसन्धान शुरु गरिसकेको छ।