लमही – काठमाडौँमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किनुभएको छ ।
काठमाडौँबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्किएका वलीलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे। ‘‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई ’’, नगर प्रमुख पाण्डेले भने। उनले कोरोनालाई उच्च मनोबल बनाए सजिलै जित्न सकिन्छ भन्ने सन्देश सबैलाई दिन पनि उनलाई आग्रह गरे।
नगर प्रमुख पाण्डेले वलीलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गर्नुभएको थियो । लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बसेका ४६ वर्षीय वलीलाई त्यही बेला कोरोना संक्रमण देखिएको हो । स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुर्याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उनले आफ्नो अनुभव बताए।
यही जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताए। ‘‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ’’, उनले भने।