एजेन्सी – पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६१ हजार २२७ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ७६ संक्रमित थपिएका बताइएको छ ।
पाकिस्तानमा संक्रमित मध्येका १ हजार २६० व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । पाकिस्तानमा बुधबार मात्र ३५ जना संक्रमितको ज्यान गएको छ ।
पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।
संक्रमितहरुमध्ये २० हजार २३१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३९ हजार ७३६ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।
अफगानिस्तानमा २४ घन्टामा ५६० कोरोना संक्रमित थपिए
अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानमा पनि दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिएका छन् । गत २४ घन्टायता अफगानिस्तानमा कम्तीमा पनि आठ जना संक्रमितको ज्यान गएको छ । यहाँ कोरोना संक्रमणबाट अहिलेसम्म २३५ जनाको ज्यान गएको पनि समाचारमा जनाइएको छ ।
यहाँ कारोनाका संक्रमितमध्ये १ हजार २०९ जना निको भएर फर्र्िकएका छन् । यहाँ निधन भएकाहरुमा कुनै न कुनै रोगका बिरामीहरु रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल अफगानिस्तानमा ११ हजार ५७२ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।