काठमाडौँ – सरकारले कोरोनाविरुद्ध खटिनेबाहेक सबै कर्मचारीको भत्ता कटौती गर्ने भएको छ।
सरकारले आउने आर्थिक वर्षमा कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले पाउँदै आएको अतिरिक्त भत्ता कटौती गर्ने भएको हो।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा प्राप्त गर्दै आएको भत्ता कटौती गर्ने जानकारी गराए।
कोरोना भाइरस संक्रमणका कारण देशको अर्थमा पर्न जाने असरलाई मध्यनजर गर्दै कम प्राथमिकतामा पर्ने गोष्ठी सहायता, भौपरी खर्च, फर्निचर, सवारी साधन, मर्मत खर्चलगायतको बजेट कटौती गरिने अर्थमन्त्रीले बताए। कार्यालय सन्चालन, इन्धन, मर्मत, भ्रमण लगायत शिर्षकका खर्चमा पनि उल्लेख्य कटौती गरिने उनको भनाई छ।
कर्मचारीलाई प्रोत्साहन रकम
सरकारले कर्मचारीलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको प्रोत्साहन रकममा वृद्धि गरिएको जानकारी दिए पनि रकममा भएको बढोत्तरीबारे स्पष्ट पारे ।
उनले सरकारी कर्मचारीका सन्तानलाई शिक्षा र आवासका निम्ति सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने बताउँदै कर्मचारीलाई रु एक लाखको कोभिड बीमाको प्रावधान बजेटमा समावेश गरिएको जानकारी दिए ।
कोभिड–१९ को महामारीका कारण उत्पन्न असामान्य अवस्थामा सार्वजनिक भएको आगामी आवको बजेटमा परिस्थितिजन्य प्राथमिकता र आवश्यकतालाई दृष्टिगत गरी तर्जुमा गरिएका कार्यक्रमलाई रकम विनियोजन गरिएको छ भने पर्याप्त स्रोत जुट्ने स्थिति नरहेकाले तलबभत्तालगायत सुविधा वृद्धिको व्यवस्था यो वर्ष हुन नसकेको हो ।