काठमाडौँ – पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशी जनता, आदिवासीहरुको माग समेटेर प्याकेजमा संविधान संशोधन गरिनुपर्ने बताएका छन्।
प्राईम टाईम्स टेलिभिजनका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै प्याकेजमा संविधान संशोधन गरिनुपर्नेमा जोड दिएका हुन्। राष्ट्रिय सहमतिका लागि प्याकेजमा संविधान संशोधन गरिनुपर्ने उनको बुझाई छ। भारतसँगको सिमा विवादको समाधानको लागि राष्ट्रिय एकता हुनुपर्ने र त्यो प्याकेजमा गरिने संविधान संशोधनले मात्रै कायम हुने उनले दाबि गरे।
जबर्जस्ति जारी गरिएको संविधानमा धेरै त्रुटी रहेको हुँदा उनले संघियताको सम्रचनामै गलत रहेको बताए। उनका अनुसार देशमा १० भन्दा बढी प्रदेश हुनुपर्छ। कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा निशाना छापमा अद्यावधिक गर्न हुन लागेको संशोधनको पक्षमा मतदान गर्ने विषयमा आफूहरु निष्कर्षमा पुगिनसकेको पनि उनले बताए।
“हामी निश्कर्षमा पुगिसकेको छैनौँ। संविधान संशोधन प्याकेजमा गर्ने विषयमा हाम्रो छलफल चलिरहेको छ। संविधान संशोधनमा हाम्रो माग समेट्ने कि नसमेट्ने भन्ने प्रधानमन्त्रीको कुरा हो। हामीलाई साथमा लिएर जान सक्नु भएन भने उहाँको गल्ती हो।”,अन्तर्वार्तामा उनले भनेका छन्। देश अन्तरिक रुपमा बलियो र एकता नभई भूमि फिर्ता ल्याउने कुरा सम्भव नहुने उनले तर्फ गरे। यस्तै ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका भूमि फिर्ता ल्याउन सक्नेमा शङ्का व्यक्त गरे।
आफूसँग जनमत छ भन्ने दम्भ देखाएर आफूहरुको माग लत्याउने भए आफूहरुले प्रधानमन्त्रीलाई नरोक्ने उनको भनाई छ। “राष्ट्रिय सहमति जुटाउने काम प्रधानमन्त्रीको हो। जनमत छ, शक्ति छ, अहङ्कार छ, दम्भ छ भने अगाडी जानुस्। हाम्रो के आवश्यकता छ र ?”,आफ्ना मागहरु सम्बोधन नभए संविधान संशोधनबाट आफूहरु ब्याक हुने संकेत गर्दै उनले भने।
यस्तै उनले मधेशवादी दलका कुनै पनि नेताले राष्ट्रघाती सन्धिमा हस्ताक्षर नगरेको भन्दै आफूहरुको राष्ट्रप्रेम बारे प्रश्न उठाउने नमिल्ने पनि बताए। नेपालका कम्युनिष्ट पार्टीको समेत भारतमा जन्म भएको उल्लेख गर्दै उनले आफूहरुको पार्टी नेपालमै जन्मिएको दावी गरे। “राष्ट्रियता खोज्न मधेशमा जानुपर्छ। मधेशलाई होच्याउने, भारतसँग जोड्ने कार्यनै राष्ट्रघाती हो”,उनले भने।