संविधान संशोधन विधेयक पारित हुने निश्चित !

काठमाडौं । संसद्मा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेस भएको छ । सरकारले संसद्मा पेस गरेको संविधान संशोधन नेकपा र नेपाली कांग्रेसले समर्थन गर्ने निश्चित भएपछि दुई तिहाइबाट पारित हुने सुनिश्चित भएको हो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्न मागेको अनुमतिमा विरोधको सूचना नआएकाले सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पेस गर्न अनुमति दिएका थिए ।

सरकारले नेपालको अद्यावधिक नक्सा प्रकाशन गरेपछि संविधानको अनुसूचीमा रहेको निशान छापमा रहेको नेपालको नक्सा पनि परिवर्तन गर्न संविधान संशोधन गर्न लागिएको हो । नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा संशोधनका लागि सरकारले संसद् सचिवालयमा केही दिनअघि संशोधन विधेयक दर्ता गराएको थियो । अद्यावधिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र पनि समावेश छन् ।

मन्त्रिपरिषद् बैठकले ५ जेठमा लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका भूभाग समेटिएको नयाँ नक्सा पारित गरेको थियो । त्यसको दुई दिनपछि भूमि व्यवस्था मन्त्रालयले अद्यावधिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक गत ९ जेठमा संसद् सचिवालयमा दर्ता भएको थियो ।

१४ जेठको संसद् बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्ने उल्लेख थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले ‘केन्द्रीय समितिबाट निर्णय गर्छौं’ भनी समय मागगरेपछि १४ जेठको कार्यसूचीबाट संविधान संशोधन हटाइएको थियो ।

सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरूलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसद्मा रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले यस विषयमा औपचारिक बोलेका छैनन् । अनौपचारिक रूपमा भने दुवै दलले नक्सासम्बन्धी विषयमा संविधान संशोधन गर्ने विषयमा आफूहरूको विरोध नहुने बताएका छन् ।

प्रकाशित : सोमबार, जेठ १९, २०७७०२:५२

विदेशमा रहेका नेपाली श्रमिक फर्काउने गृहकार्य अन्तिम चरणमा