काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन गति तिव्र रुपमा देखिन थालेको छ । सोमबार अपरान्हसम्म ५९ जिल्लामा यो सख्या १ हजार ८११ पुगेको छ । संक्रमण तिव्र रुपमा फैलिएपनि केही घटना बाहेक समाजमा फैलिएको देखिएको छैन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
उदयपुरको भुल्के र नेपालगञ्जमा बाहेक अन्य घटनामा समाजमा संक्रमण फैलिएको देखिएको छैन । तर, क्वारेन्टाइनभित्रै संक्रमण तिव्र रुपमा बढ्न थालेको छ । सोमवार थप २३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै एकैदिन भेटिएको सबैभन्दा ठुलो सख्या हो । सोमबार भेटिएका संक्रमितमा २५ जिल्लाका १४ जना महिला र २२५ जना पुरुष रहेका छन् ।
सोमबार सबैभन्दा बढि दैलेखका ४१, कपिलवस्तुका ४७, सर्लाहीका ३८, जुम्लाका १९, रौटहतका १८, कैलालीका १४ र सल्यानका १० जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैगरी दाङका ९, बाँकेका ७, धनुषाका ७, सुर्खेतका ५, सिरहाका ५, नवलपरासी पूर्वका ३, नवलपरासीका ६ वर्षीय बालक, पाल्पा ५, रुपन्देहीका तीन वर्षीया बालिकासहित ४ जना संक्रमित भेटिएको छ । झापा र महोत्तरीमा २÷२ जनामा र मकवानपुर, गुल्मी, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरका १÷१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
लगातार एक सयभन्दा बढी संक्रमण पुष्टि भएको सोमवार छैठौँ दिन हो । सोमबार भने दुई सय भन्दा बढि संक्रमित भेटिएपछि सरकारले केही नीतिगत परिवर्तन गर्ने तयारी गरेको छ । गएको छ दिनमा मात्रै १ हजार ०३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । कुल संक्रमितमध्ये १ हजार ५६९ जना उपचारको क्रममा आइसोलेशनमा रहेको बताइएको छ ।
देशभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेका छन् । जसमध्ये अझै पनि संक्रमित भेटिन सक्ने सख्या उच्च रहेको सरकारी अधिकारीहरु बताउछन् । अहिले भेटिएका संक्रमितमध्ये करिव ९५ प्रतिशत क्वारेन्टाइनमा नै रहेका छन् । त्यसैले यो सख्या अझै उच्च हुन सक्ने आंकलन उनिहरुले गरेका छन् । अहिलेसम्म आइसोलेशनमा रहेको स्वास्थ्य अवस्था राम्रो नै रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ८ जना मृतकमा कोरोना संक्रमण भेटिएको छ । पछिल्लो पटक काठमाडौं र डडेलधुरामा मृत्यु भएका दुई व्यक्तिमा कोरोनाभाइरस संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
सरकारले भारतबाट आउने व्यक्तिमा संक्रमण देखिएकाले सख्या दिनहु बढेको बताएको छ । यो सख्या अझै बढ्न सक्ने आंकलन गरेको छ । स्वदेश फर्किने व्यक्तिमा संक्रमण देखिएपनि त्यसलाई समाजमा फैलिन दिन नहुने प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल बताउछन् । ५८० संक्रमित फेला परेका प्रदेश–५ मा अधिकाशं भारतबाट आएका छन् ।
प्रदेश–५ मा कोरोना संक्रमित मध्ये ९० प्रतिशत भारतवाट आएर क्वारेन्टिनमा वस्नेहरु रहेको मुख्यमन्त्री पोखरेलले बताए । वाँकी उनीहरुको सम्पर्क आएका र व्यवस्थापनमा संलग्न छन् । केहीमात्र अन्य प्रदेशवाट संक्रमित भएर आएकाहरु छन् । ‘नेपालगंजको एउटा केसलाई अलग गर्ने हो भने प्रदेशमा समुदायस्तरमा संक्रमण फैलिएको अवस्था देखिएको छैन’, मुख्यमन्त्री पोखरेलले भने, ‘विदेशवाट आउनेको सुरक्षित व्यवस्थापन गर्नसक्ने हो भने साउन महिना भित्रै संक्रमणको दरलाई स्थिर बनाएर क्रमशः नियन्त्रण गर्न सकिन्छ । प्रदेश सरकार सकेसम्म छिटो कोभिड १९को वढ्दो संक्रमण दरलाई स्थिर बनाउने गरी अघि वढिरहेको छ ।’
सरोकारवालाले पनि सकेसम्म परीक्षणलाई बढाउन आग्रह गर्दै आएका छन् । सरकारले दैनिक दुई हजार पाँच सयको हाराहारीमा पिसिआर परीक्षण गर्दै आएको छ । आरडिटीलाई बाट पनि परिक्षणलाई जारी राखेको छ । हालसम्म पिसिआर प्रविधिबाट भने ७६ हजार ९०३ जनाको परीक्षण गरिएको छ ।