काठमाडौँ – गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका अनुसार मंगलबार बिहान स्याङ्जाका पाँच जना र पर्वत पाँच जना गरी १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। प्रदेशमा १० नयाँ कोरोना पुष्टि बारे मंगलबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।
स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा संक्रमणको पुष्टि भएको निदेशनालयले जनाएको छ।
यस्तै पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुषमा संक्रमणको पुष्टि भएको निदेशनालयका निर्देशक तथा प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जनाएका छन् ।
मंगलबारको १० पुष्टिसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३७ पुगेको छ।