काठमाडौँ – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः बढ्दै गएको छ । सङ्क्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै बढेको छ ।
जेठको दोस्रो हप्ता देखि १०० भन्दा बढी संक्रमित भेटिन थालेकोमा तेस्रो हप्ता सम्म आइपुग्दा दैनिक संख्या ३ सय भन्दा माथि पुगेको छ। बिहिबार एकै दिन नेपालमा ३ सय ३४ जनामा कोरोनाको पुष्टि भएको छ।
बिहिबार मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ जनामा कोरोनाको पुष्टि भएको हो।
चीनको उहानबाट आएका एक नेपालीमा पहिलो पटक विसं २०७६ माघ ९ मा कोभिड– १९ पुष्टि भएको थियो । त्यसयता क्रमिक रुपमा बढेको संक्रमण अहिले रफ्तारमा अगाडी बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना संक्रमितको संख्या १० देखि १५ हजार सम्म पुग्न सक्ने अवस्था देखिएकाले सतर्क रहनुपर्ने बताएका छन्। संक्रमितको संख्या लगातार बढेसँगै सरकारले ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गर्ने तयारी गरेको छ।
नेपालमा अहिले सम्म कोरोनाका कारण १० जनाले ज्यान गुमाइसकेका छन्। पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको हो।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा सबै भन्दा पहिलो मृत्यु जेठ २ गते सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो भने उनीमा जेठ ३ गते कोरोनाको पुष्टि भएको थियो। नेपालमा अहिले सम्म कोरोनाका कारण मृत्यु भएका दुई जना बाहेक सम्पूर्णमा मृत्यु पश्चात कोरोनाको पुष्टि भएको छ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेमा को-को ?
१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिला: २ जेठमा निधन, ३ जेठमा कोरोनाको पुष्टि
२. ३० वैशाखमा भारतबाट फर्किएका बाँके नरैनापुरका २५ वर्षीय युवक: ४ जेठमा निधन, जेठ ४ गते निधनपछि कोरोनाको पुष्टि
३. गुल्मीका ४१ वर्षीय शिक्षक : ५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भई ८ जेठमा निधन
४. बाराका ७० वर्षीय वृद्ध: क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा निधन, १२ जेठमा कोरोनाको पुष्टि
५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष: १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा निधन, १५ जेठमा संक्रमण पुष्टि
६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष: भारतबाट फर्किदा १० जेठमा बाटोमै निधन, १६ जेठमा संक्रमणको पुष्टि
७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष: पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा जेठ १७ गते निधन, १७ जेठमा कोरोना संक्रमणको पुष्टि
८. बाजुरा बूढीगंगा नगरपालिका-१ की दुई वर्षीया बालिका: जेठ १८ गते बाजुराको जिल्ला अस्पतालमा निधन, जेठ १८ गते नै कोरोनाको पुष्टि
९. दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्ध: जेठ २१ गते महाराजगञजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन,जेठ १५ मा कोरोनाको पुष्टि
१०. पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुष: जेठ १९ गते पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा निधन, जेठ २२ गते कोरोनाको पुष्टि