कोरोना संक्रमण आक्रमक: निको हुने दर न्युन, ९५ प्रतिशतमा छैन लक्षण !

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) फैलिन शुरु भएको साढे चार महिनाको अवधिमा निको हुने दर भने न्युन देखिएको छ । पछिल्लो पटक मात्र संक्रमण भएका व्यक्ति भेटिएकाले पनि यो दर न्युन भएको देखिएको छ । तर, संक्रमितहरुको औसत अस्पताल बसाई पनि लामो नै छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

नेपालमा माघ १० गते पहिलो पटक चीनको वुहानबाट आएका एक विद्यार्थीमा यो संक्रमण देखा परेको थियो । त्यसयता जेठ २२ गतेसम्म आईपुग्दा संक्रमितको सख्या २ हजार ६३४ पुगेको छ । पछिल्लो १५ दिनमा संक्रमितको सख्या निक्कै आक्रमक रुपमा बढेको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका नेपालीहरु संक्रमित भेटिएका छन् । विहिवार मात्र ३३४ जनामा संक्रमण देखिएको छ । यो सख्या अहिलेसम्म एकै दिन भेटिएको सबैभन्दा ठुलो हो ।

संक्रमितको सख्या बढ्ने क्रम जारी भएपनि निको हुने सख्या भने अहिले न्युन रहेको छ । केवल २९० जना मात्र विहिवार दिउसोसम्म अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पुष्टि गरेको छ । जुन कुल संक्रमितको ११ प्रतिशत मात्र हो । उनिहरुको औसत अस्पताल बसाई पनि १६ दिन रहेको छ । कतिपय केवल ५ दिनमा संक्रमणमुक्त भएका छन् भने कतिपय ४२ दिनसम्म अस्पताल बसेको रेकर्ड रहेको छ । डिस्चार्ज हुने २९० मध्ये ५६ महिला र २३४ पुरुष रहेका छन् ।

नेपालमा मृत्यु हुनेको सख्यामा पनि ज्यादै न्युन रहेको छ । अहिलेसम्म यो संक्रमणबाट १० जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको शुन्य दशमलव ३७ प्रतिशत हो । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा. विकास देवकोटाले मृत्युको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिनअघि आएका र क्वारेन्टाइनमा रहेका थिए । स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको भएपनि रिपोर्ट भने विहिवार मात्र आएको हो ।

नेपालमा सबैभन्दा बढि २१ देखि ३० वर्षसम्मका युवायुवतिमा कोरोनाको संक्रमण देखिएको छ । करिव ३९ प्रतिशत संक्रमण यो उमेर समुहका रहेका छन् । विहिवारसम्म यो उमेर समुहका १ हजार १९ जना संक्रमित छन् । त्यसपछि ३१ वर्षदेखी ४० वर्ष उमेर समुहका ५७७ जना रहेका छन् । स्वास्थ्य विज्ञहरुका अनुसार यो उमेर समुहका युवायुवति रोजगारीका लागि विदेश जाने गरेका कारण नै उनिहरु नै बढि संक्रमित फेला परेको बताउछन् ।

त्यसैगरी १० वर्षसम्म ६५ जना, ११ देखी २० वर्षसम्मका ६४६, ४१ वर्षदेखी ५० वर्ष उमेर समुहका २२३, ५१ देखि ६० वर्ष उमेरका ७२, ६१ देखि ७० सम्मका २३ र त्यसभन्दा माथी उमेर समुहका ९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । विहिवार संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना रहेका छन् । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।

संक्रमण भएका अधिकांश संक्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको छैन । इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले यहाँ देखिएका ९५ प्रतिशत संक्रमितमा कोभिड–१९ को लक्षण नदेखिएको बताए । संसारमा भने ८० प्रतिशत संक्रमितमा पनि लक्षण देखिएको छैन ।

उनका अनुसार लक्षण नदेखिनुमा परीक्षण ढिलो, नेपालमा प्रवेश गरेको भाइरस कडा खालको नहुने र नेपालीमा प्रतिरोधात्मक क्षमता बढीजस्ता कारणले लक्षण नदेखिएर संक्रमण भएको हुनसक्ने बताए । ‘कोरोना भाइरस मानिसमा १४ दिनसम्म देखापर्ने गर्दछ, तर हामीले परीक्षण १४ दिनपछि पनि गरेका छौँ’, उनले भने, ‘भाइरस मानिसमा सरेको १४ दिनपछि परीक्षण गराउँदा लक्षण नदेखिन सक्छ ।’

संक्रमितमध्ये पाँच प्रतिशत बिरामी भने संक्रमणको लक्षणसहित मुटुरोग, उच्चरक्तचाप, दमलगायतका बिरामी छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पनि शुरु–शुरुमा बाहिरबाट आउने बिरामीमा भाइरसको लक्षण भए पनि पछिल्लोपटक आउने बिरामीमा नभएको बताए । संक्रमण भएका व्यक्तिमा १४ दिनपछि पिसीआर परीक्षण गर्दा भाइरस निकै कम सक्रिय रहेको हुन्छ । त्यतिबेला परीक्षण गराएका व्यक्तिमा संक्रमण देखिन पनि सक्छ, नदेखिन सक्छ । भाइरस पाँचदेखि १० दिनमा एकदमै सक्रिय हुनाले त्यतिबेला पिसीआर परीक्षण गराउनुपर्ने हुन्छ ।

प्रकाशित : शुक्रबार, जेठ २३, २०७७०२:०३

लकडाउनमा बजार नखुल्ने !