आरडिटी जाँच गर्दा नेगेटिभ आयो, घर गएपछि कोरोनाले ज्यान लियो !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नेपालमा ११ पुगेको छ। बिहिबार ज्यान गुमाएका एकमा कोरोनाको पुष्टि भएसँगै नेपालमा कोरोनाक कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको हो।

कोरोना पुष्टि हुनेमा पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा फर्किएका एक युवक रहेका छन्। पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा बिहिबार बिहान मृत्यु भएको थियो ।

उनी यही जेठ ९ गते भारतको मुम्बइबाट आएका थिए । बुधबार साढे ४ बजे आरडिटी जाँच गर्दा नतिजा नेगेटिभ आएपछि घर पठाइएको थियो । तर पछि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणले भने युवकमा कोरोनाको पुष्टि गरेको हो।

मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको छ । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । कुल ११ जना मृतकमध्ये ९ जना पुरुष र २ महिला रहेका छन् । नेपालमा कोरोनाका कारण ज्यान गुमाउने अधिकांशहरुको मृत्यु पछि मात्रै कोरोना पुष्टि हुने गरेको छ।

प्रकाशित : शुक्रबार, जेठ २३, २०७७०२:२३

अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही !