काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण थप दुई जनाको मृत्यु भएको छ । जेठ २१ र २३ गते दुई जनाको मृत्यु भएपनि पुष्टि भने शनिवार मात्र भएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्यु भएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको छ । उनको २३ जेठ अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनको शनिवार बिहान मोहना आर्यघाटमा अन्त्येष्टि भइसकेको वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले बताए । ति महिलामा कोरोनाको कुनै लक्षण समेत नदेखिएपछि अस्पतालले मृतकको शव आफन्तलाई जिम्मा लगाएको थियो ।
अन्त्येष्टिअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएकोमा कोरोना पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले पनि मृतकको अन्त्येष्टि भइसकेको बताउँदै ‘कन्ट्याक्ट ट्रेसिङ’को कार्य भरहेको बताए । कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव बुझाएर अन्त्येष्टि भएपछि अहिले मृतकको टोलमा त्रास बढेको छ । लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित उनी पहिलोपटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिइन् । डायलासिसअघि उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।
यसैगरी, डोल्पास्थित घरमा बसिरहेका ५८ वर्षीय पुरुषको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएके छ । ४ दिनअघि आफ्नै घरमा मृत्यु भएका उनमा शनिवार कोरोना भाइरसको संक्रमण भेटिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । जेठ १६ गते सुर्खेतबाट डोल्पा पुगेका ती पुरुष होम क्वारेन्टाइनमै रहेका थिए । लामो समयदेखि दमका रोगी उनी सुर्खेतबाट डोल्पा फर्कने क्रममा बाटोमै मौरे भन्ने ठाउँमा गम्भीर बिरामी परेका थिए । १८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो ।
आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते मृत्यु भएको थियो । उनको घर निक्कै दुर्गम क्षेत्रमा रहेकाले स्थानीय स्वास्थ्यकर्मीलाई नै कन्ट्रा्याक ट्रेसिङको काम दिइएको छ । उनको रिपोर्ट पोजिटिभ आएपछि ३ नम्बर वडा र गाउँपालिकालाई सिल गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिं रोकायले बताए । मृतक पुरुषको दाहसंस्कारमा गाउँले, वडावासी र अरु छिमेकी वडावासीसमेत सहभागी भएको भए पनि सुरक्षा सतर्कता अपनाएर दाहसंस्कार गरिएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले पनि क्वारेन्टाइनमा जानुपूर्व स्वास्थ्य अवस्थाका बारेमा राम्रोसँग परीक्षण गर्न र सम्वन्धि निकायमा आफ्नो स्वास्थ्यका विषयमा पनि जानकारी दिन भनेको छ । क्वारेन्टाइनमा बस्नेको मृत्यु बढ्न थालेपछि दीर्घ रोगीहरुले सम्वन्धित निकायमा आफ्नो स्वास्थ्यका बारेमा अनिवार्य जानकारी गराउन भनेको छ । प्रवक्ता डा. देवकोटाले यस्तो जानकारी भए उनिहरुको रेखदेखमा सजिलो हुने बताए ।
हाल क्वारेन्टाइनमा एक लाख ६७ हजार भन्दा बढि व्यक्ति रहेकाले सबैको रेखदेख गर्न अप्ठेरो पर्ने भएकाले दीर्घ रोगीहरु, स्वास्थ्यमा समस्या भएकाहरु र श्वासप्रश्वासमा समस्या भएकाहरुले यस्तो जानकारी गराउनु आवश्यक रहेको प्रवक्ता डा. देवकोटाले बताए । उनले क्वारेन्टाइनबाट घर गएकाले पनि सावधानी अपनाउनुपर्ने बताए । घरमा दीघरोगी, वृद्ध व्यक्ति, सुत्केरी वा गर्भवती भए क्वारेन्टाइनबाट घर पुग्ने व्यक्तिले विशेष सजगता अपनाउनुपर्ने उनको भनाई छ ।
पछिल्लो दुईसँगै कोरोनाबाट नेपालमा १३ जनाको मृत्यु भएको छ । यी दुईसँगै कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक गरी १३ जनाको मृत्यु भएको छ ।