काठमाडौं । सरकारले निर्देशन दिएअनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रारम्भिक मोडालिटी तयार पारेको छ । समितिले आर्थिक गतिविधि पहिलो चरणमा खोल्नेगरी मोडालिटी तयार पारेको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
विभिन्न क्षेत्रसँग छलफल गरिरहेको समितिले शनिवार पहिलो चरणको मोडालिटीका विषयमा छलफल गरेको छ । आर्थिक क्रियाकलाप, बैंकिङ कारोबार, कृषिजन्य उद्योग व्यवसाय, अत्यावश्यक सेवाका क्षेत्रहरू, अस्पताल तथा प्रयोगशालालगायतका क्षेत्रलाई पहिलो चरणमा क्रमशः सहजता दिलाउँदै लैजाने गरी तयार गरेको छ । लामो समयदेखिको लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि सरकारले विकल्पको खोजी गरेपनि पूर्णरुपमा भने लकडाउन असोजबाट मात्र खुल्ने तयारी गरेको छ ।
शनिबार बसेको समितिको बैठकले लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा छलफल गरेपनि केही तयारी नपुगेकाले अन्तिम निर्णय गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डमा रहेर औद्योगिक र निर्माणजन्य उद्योग, व्यवसाय सञ्चालन गरिने बताए । यससँगै विकास निर्माणका कामलाई पनि अगाडि बढाइने उल्लेख गरे । अर्को बैठकमा यी विषयमा छलफल गरेर आधिकारीक मोडालिटी बनाइने बताए ।
पहिलो चरणमा उद्योग, कलकारखानासँगै विकास निर्माणका काम र आधारभूत आवश्यकताका क्षेत्र खुकुलो बनाइने र त्यसपछि चरणवद्ध रुपमा वर्कआउट गरिने उनले बताए । हालै बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तय गर्न समितिलाई निर्देशन दिएको थियो । लकडाउन लम्बिँदै गएपछि उद्योगी–व्यवसायीले सरकारलाई उद्योग–व्यवसाय खोल्नका लागि दबाब दिँदै आएका छन् । नेपालमा चैत ११ देखि लकडाउन लागू भएकोमा पटकपटक लम्ब्याइँदै पछिल्लो समय ३२ जेठसम्मका लागि कायम गरिएको छ ।