देशभरका ३ हजार विद्यालयलाई क्वारेन्टाइन बनाइयो !

काठमाडौं – देशभरका १५ प्रतिशत विद्यालयमा क्वारेन्टाइन राखिएको छ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले तयार पारेको तथ्यांकअनुसार देशभरका करिब ३ हजार सामुदायिक विद्यालयमा सरकारले क्वारेन्टाइन निर्माण गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन् भने कर्णाली प्रदेशका ९ सय ८१ विद्यालयमा क्वारेन्टाइन छन् । केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका विद्यालयमा क्वारेन्टाइन रहेको जानकारी दिनुभयो ।

यसमध्ये कर्णाली प्रदेशमा ४ सय ६६, ५ मा ८ सय, गण्डकी प्रदेशमा २ सय, बाग्मतीमा १ सय ५०, १ मा २ सय र प्रदेश २ मा करिब ३ सय विद्यालयका क्वारेन्टाइन सञ्चालन गरिएको छ । केन्द्रले शुक्रबार सबै प्रदेशको कोभिड रेस्पोन्ट कार्यदलको बैठकले सो तथ्यांक निकालेको हो ।

उपमहानिर्देशक श्रेष्ठले सामुदायिक विद्यालयमा क्वारेन्टाइन राख्ने क्रम बढेको जानकारी दिनुभयो । अनुमान गरेअनुसार अहिलेसम्म करिब ३ हजार विद्यालयमा क्यारेन्टाइन रहेको र यो क्रम बढ्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

भक्तपुरमा प्रहरी कार्यालयसमेत विद्यालयमा राखिएको छ । सुरक्षित र सुविधा सम्पन्न हुने भएकाले अधिकांश स्थानीय तहले विद्यालयमा क्वारेन्टाइन राख्ने गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक साताभित्र एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गरिरहँदा देशभर ३ हजार विद्यालयमा क्वारेन्टाइन रहेपछि कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषय अन्योल देखिएको छ । मन्त्री पोखरेलले हचुवाको भरमा अध्ययन नै नगरी एक साताभित्र तीनवटा तहको परीक्षा सञ्चालन गर्ने बताउँदै आउनुभएको छ ।

दिनदिनै कोरोना संक्रमितको संख्या बढेसँगै विद्यालयलाई क्वारेन्टाइन बनाउने क्रम बढेको छ । यही अवस्था भएमा एक साताभित्र करिब २५ प्रतिशत विद्यालय क्वारेन्टाइनमा परिवर्तन हुन सक्ने आँकलन प्रदेशको कोभिड रेस्पोन्स टिमले लिएको छ ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७०१:४८

विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिने, वैकल्पिक विधिबाट पठन-पाठन शुरु हुने !