आज एकै दिन ३ सय जना भन्दा बढीमा कोरोनाको पुष्टि !

काठमाडौँ – सोमबार ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नव-नियुक्त प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा २९४ जना पुरुष र २० जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ।  सोमबार सम्म नेपालका ७१ जिल्लामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका २१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। जससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ४८८ पुगेको छ।

हाल सम्म नेपालमा १ लाख ९ सय ७१ पिसिआर परीक्षण र १ लाख ५६ हजार ९५१ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ४ हजार ७ सय ६६ पिसिआर परीक्षण र ११ हजार ९ सय ४२ आरडीटि परीक्षण भएको छ।

बितेको २४ घण्टामा कुल १६ हजार ७ सय ८ परीक्षण भएको प्रवक्ता गौतमले जानकारी दिए। हाल देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन्।

प्रकाशित : सोमबार, जेठ २६, २०७७१०:४०

आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिन्छन् यी वडाध्यक्ष !