आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिन्छन् यी वडाध्यक्ष !

बाँके – “म आफू त जोखिममै छु, मेरो कारण परिवारका सदस्य जोखिममा नपरुन् भन्ने हो”, राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले भन्नुभयो, “घरमै पनि अलग बस्न पनि सकिन्थ्यो, तर अहिले मेरो परिवारभन्दाबढी भारतबाट आएर क्वारेन्टिनमा बस्नेलाई मेरो आवश्यकता छ ।” उनीहरुको सम्पर्कमा बस्नुपर्ने भएकाले कोरोनाको जाुखिम हुन सक्ने उहाँले राम्रोसँग बुझ्नुभएको छ ।

जोखिम बढ्नसक्ने भन्दै उहाँले अहिले क्वारेन्टिनलाई नै आफ्नो बास बनाउनुभएको छ । भारतबाट आएकाको सिमानामा गएर उद्धार गरी क्वारेन्टिनमा ल्याउने र क्वारेन्टिनमा रहेकाको सेवा गर्नमै उहाँको दिनरात बित्ने गरेको छ । वडाका कुनै नागरिक मध्यरातमा सीमा नाकामा आए उहाँ उद्धारका लागि गाडी लिएर तत्काल पुग्नुहुन्छ ।

उहाँले कोरोनाभन्दा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । “उद्धार, राहत र क्वारेन्टिन व्यवस्थापनका लागि अहोरात्र खटिएको छु । बन्दाबन्दी भएपछि घर गएको छैन । भारतबाट आएकाको सेवामा लाग्नुपर्ने भएकाले घरमा जाने फुर्सद पनि छैन । उहाँहरुको उद्धार र व्यवस्थापनमा खटिँदा कोरोना सङ्क्रमणको जोखिम भएकै कारण म पनि क्वारेन्टिनमै बसिरहेको छु”, उहाँले भन्नुभयो ।

शुरुको केही समय उहाँले नरैनापुर गाउँपालिकाको सुइँया–बघौडा नाकामा अलपत्र परेका आफ्ना वडाका नागरिकको उद्धार गर्नुभयो । “राम्रो समयमा साथ त जसले पनि दिन्छ । अहिले जनताको सेवा गर्ने समय हो”, उहाँले भन्नुभयो, “दुःखमा साथ दिनु नै सच्चा समाज सेवा हो । जनप्रतिनिधिको दायित्व र कर्तव्य पनि यही हो ।” आधा रातमा फोन आए पनि लिन नाकामा पुग्ने गरेको उहाँले बताउनुभयो ।

गाडी चालकले भारतबाट आउनेलाई बोक्न नमानेपछि आफैँ गाडी चलाएर नाकाबाट सर्वसाधारणको उद्धार गर्नुभयो । नाकाबाट आएका आफ्ना नागरिक ओसार्नका लागि उहाँले गाडी भाडामा लिनुभएको छ । तर कोरोना सर्ने डरले चालक आउन नमानेपछि उहाँ आफैँ गाडी चलाउनुहुन्छ । “गाडी चालल आउन नमानेपछि आफैँ गाडी चलाएर उद्धारमा खटिनुपरेको छ”, उहाँले भन्नुभयो । नागरिकको उद्धारसँगै व्वस्थापनमा पनि उहाँको उस्तै सक्रियता छ ।

आफ्नो वडाभित्र कोरोना सङ्क्रमितलाई राख्न आफ्नै वडामा आइसोलेशन र क्वारेन्टिन व्यवस्थापनमा सक्रिय भएर लागेको बताउँदै उहाँले भन्नुभयो, “वडामै दुई वटा आइसोलेशन र दुई वटा क्वारेन्टिन बनाएका छौँ । म पनि क्वारेन्टिन भएको भवनमा बस्ने गरेको छु । क्वारेन्टिन र आइसोलेशनमा रहेकाको खानपिनमा कुनै असुविधा नहोस् भनेर प्रत्यक्ष पुगेर सोधपुछ गर्छु ।” सँगै बस्दा रेखदेख र व्यवस्थापनसँगै आफैँले निगरानी गर्दै आएको उहाँले बताउनुभयो ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७११:२९

आफैंलाई आगो लगाएका सिदार्थको ज्यान गयो !