काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बिजय सुव्वाले सुगौली सन्धि नमान्ने हो भने नेपालले मात्र मान्नु पर्छ भन्ने नरहेको बताएका छन्।
लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक माथिको छलफलमा भाग लिँदै मंगलबार प्रतिनिधिसभामा सांसद सुव्वाले सुगौली सन्धि नेपालले मात्र मान्नु पर्छ भन्ने नरहेको बताए।
“भारतले सन् १८१६ को सुगौली सन्धि मान्दैन भने नेपालले मान्न जरुरि छैन। जति बेला भारत जन्मिएको थिएन, त्यस बेला भारतमा ब्रिटिसको राज्य थियो। ब्रिटिस र नेपाल बीच भएको सन्धि भारतले मान्दैन भने नेपालले मान्नु पर्छ भन्ने पनि छैन।”,उनले भने,”म आज देखि भन्छु, मेरो देशको सिमाना पूर्वमा टिस्टा, पश्चिममा काँगडा र दक्षिणमा बिहारको अलिगंज हो” संसदमा राष्ट्रविरोधी सांसद देखेर आफूलाई अचम्म लाग्ने गरेको पनि उनले सुनाए।
“जसलाई यो देशको नक्सा मनपर्दैन त्यहि देशको लोगो टाँस्न रहर गर्ने? जसलाई नेपाल मन पर्दैन उसैलाई नेपालमा ठूला-ठूला पद चाहिने?”,प्रश्न गर्दै उनले भने। नेपालको संसदमा रहेर नेपाल विरुद्ध बोल्ने माथि प्रश्न उठाउने आफूहरु पछि नपर्ने उनको भनाई छ। साथै उनले संसदमा हिन्दी भाषा प्रयोग गरेको विषय पनि उठान गरेका छन्।
“नेपालको संसदमा नेपाली बोल्नु पर्दैन? सांसदहरुको नैतिकता हुँदैन? देश प्रति जिम्मेवारी हुँदैन?”,सांसद सुव्वाले प्रश्न गरे।
यस्तै उनले नेपालको भूमि फिर्ता ल्याउन डटेर लागेका प्रधानमन्त्रीको प्रशंसा गर्न चुक्न नहुने पनि बताएका छन्। प्रतिपक्षि सांसदहरुले ओलीलाई देवत्वकारण गर्न नहुने भनेको प्रति उनले आपत्ति जनाए। गरेको कार्यको प्रशंसा गर्न चुक्न नहुने उनको तर्क छ।