आइसोलेसनबाट एक संक्रमित भागे, क्वारेन्टाइनमा रहेकालाई सर्पले टोक्यो !

जोगागाउँ – बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्।

क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्। यो समाचार आजको अन्नपूर्णपोस्टमा प्रकाशित छ।

जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका-१२ हो। आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका थिए। आइसोलेसनको पूर्वमा ठूलो फलामे ढोका र पश्चिम र उत्तरमा भवन बनाइएको छ। निर्माणाधीन भवनको दक्षिणतर्फ भने डोरीको मात्र बार लगाइएको छ। संक्रमितले भाग्नलाई त्यही बाटो प्रयोग गरेको हुनसक्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बताउँछन्।

आइसोलेसनबाट संक्रमित भागेको खबर मंगलबार बिहान ४ बजेतिर पाउने बित्तिकै उनको घरसम्म पुगेर खोजी गर्दा नभेटेको जानकी गाउँपालिका १ का वडाध्यक्ष मोहम्मद रजा राइले बताए। प्रहरीले दिनभर खोजी गर्दा पनि फेला पार्न सकेको छैन। भारतको नानपारा ससुराली भएका ती युवा त्यतैतिर भागेको आशंका गरिएको छ।

यसैबीच, जानकी गाउँपालिका-१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई सर्पले टोकेको छ। वडा नं. १ का वडाध्यक्ष मो.रजा राइका अनुसार सोमबार राति साढे १० बजेतिर सुतिरहेको बेला उनलाई गोमन सर्पले टोकेको हो।

प्रकाशित : बुधबार, जेठ २८, २०७७०१:४६

अलमलमा सरकार: कोरोना संक्रमित लगातार बढ्दै, लकडाउनको मोडालिटी परिवर्तन अन्योलमा !