लिपुलेक नेपालको होइन भन्ने सरिता गिरीलाई एक हप्ता भित्र कारवाही नभए आन्दोलन गरिने !

काठमाडौँ – राष्ट्रिय युवा संघ, नेपालले जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संगठन ‘राष्ट्रिय युवा संघ, नेपाल’ले सांसद सरिता गिरीलाई कारवाही गर्न माग गरेको हो।

सत्ताधारी दल नेकपाका केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा र सहसंयोजक रमेश पौडेलले विज्ञप्ति मार्फत गिरिले राष्ट्रका विरुद्ध अभिव्यक्ति दिएको भन्दै आपत्ति र भत्सना गरेका छन्।

“नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरीलाई स्मरण गराउन चाहान्छौं।” विज्ञप्तिमा भनिएको छ, “संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघि संविधानको संरक्षण र पालना गर्ने सपथ खाएको सांसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्ट्रिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ।”

गिरीलाई एकहप्ताभित्र फिर्ता बोलाउन माग गर्दै संघले संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रने र त्यसबाट सिर्जित परिस्थितिको जिम्मेवार गिरी र सम्बन्धित दल हुने चेतवनी समेत दिएको छ ।

प्रकाशित : बुधबार, जेठ २८, २०७७०६:२९

दिपकले सरिता गिरिलाई दिए उल्टो बगेको नदीको संज्ञा: भने – ‘उताकी छोरी उतैको गाइन्’