यहि महिनाको १८ गतेबाट अस्त भएको शुक्र ग्रहको उदय भएको छ। मंगलबार राति ७ बजेर ३४ मिनेट पश्चात शुक्र ग्रहको पूर्व दिशामा उदय भएको हो। वैदिक ज्योतिषशास्त्रका अनुसार शुक्रको उदयसँगै शुभ समय शुरु भएको छ। शुक्रको अस्त भएपश्चात रोकिएका सम्पूर्ण मांगलिक तथा धार्मिक कार्यहरु गर्न बाटो खुलेको छ।
ज्योतिषशास्त्रमा शुक्रलाई सुख, समृद्धि, ऐश्वर्य र विलासिताको कारक ग्रह मानिन्छ। जसको कुण्डलीमा शुक्रको बलियो उपस्थिति हुन्छ। उसको जीवन सुखमा बित्छ भन्ने ज्योतिषशास्त्रको मान्यता छ। शुक्र ग्रह वैवाहिक जीवनमा पनि असर पार्ने ग्रह हो।
शुक्रको उदयसँगै हरेक राशिमा फरक-फरक असर पर्नेछ। शुक्रको उदयले कुन राशिलाई कस्तो प्रभाव पार्ला ? हेर्नुहोस् !
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
शुक्रको उदयसँगै आर्थिक पक्षमा परिवर्तन हुनेछ। परिवारमा एकता कायम रहनुका साथै समझदारी बढ्नेछ। महँगा वस्तुमा भने खर्च बढ्न सक्ला। स्वास्थ्यमा पनि सामान्य समस्या देखा पर्ने देखिन्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
शुक्रको उदयले व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। सामाजिक प्रतिष्ठाका साथै दायित्व बढ्नेछ। अवसरका लागि केही त्याग गर्नु परेपनि उचित लाभ भने मिल्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शुक्रको उदयसँगै खर्च बढ्ने देखिन्छ। विलासिताका सामग्रीमा अनियन्त्रित खर्च रहन सक्ला। कामको चाप बढ्दा स्वास्थ्यमा समस्या देखिन सक्छ। अप्ठ्यारा चुनौतीहरूसँग सामना हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा लज्जित हुन पर्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शुक्रको उदयले प्रेम जीवन तथा पारिवारिक जीवन सुखद भएर जानेछ। परिवारमा रहेका कलह देखि छुटकारा मिल्नेछ। नयाँ कार्य थालनीको अवसर जुर्नेछ भने नयाँ सम्बन्धले पनि लाभ दिलाउनेछ। सुखद यात्रा पनि हुन सक्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शुक्रको उदयका कारण आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। परिश्रमको उचित फल मिल्दा मानसिक रुपमा राहत मिल्नेछ। परिवारको लागि खर्च भने बढ्न सक्ला।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
शुक्रको उदयले कन्या राशि हुनेहरुको जीवनमा सकारात्मक प्रभाव पार्नेछ। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा दिलाउनेछ। शत्रु आफैं पराजित हुनेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइएला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
शुक्रको उदयले तुला राशि हुनेहरुलाई पराक्रमी र प्रतापी बनाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। यधपी कार्यक्षेत्रमा ईर्ष्या गर्नेहरु देखि भने सावधान रहनु होला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
शुक्रको उदय वृश्चिक राशि हुनेहरुको लागि मध्यम फलदायी रहने देखिन्छ। आर्थिक रुपमा लाभ राम्रै मिलेपनि खर्चमा नियन्त्रण नहुँदा समस्या पर्नेछ। स्वास्थ्यमा सुधार हुन सक्ला। समस्या पर्दा सहयोग गर्नेहरू कमै भेटिनेछन्। परिवारबाट भने राम्रो साथ मिल्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
शुक्रको उदयसँगै खर्च बढ्नेछ। शत्रु सक्रिय रहने हुँदा सतर्क रहनु राम्रो हुनेछ। आफ्नै भनिएकाहरुबाट पनि धोका हुन सक्ला। व्यवसायमा साझेदारी लाभप्रद रहने देखिँदैन। अत्याधिक खर्चले आर्थिक सङ्कट पैदा गर्न सक्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
शुक्रको उदयले अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर दिलाउनेछ। विशेष गरेर समय विद्यार्थीहरूको लागि धेरै नै लाभप्रद रहन सक्ला। नौकरीमा पदोन्नति र मान-सम्मानको पनि सम्भावना देखिन्छ। प्रेम जीवन सफल रहला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शुक्रको उदय कुम्भ राशि हुनेहरुको लागि मिश्रित फलदायी रहनेछ। परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। यधपी परिवारबाट भरपुर साथ र सहयोग मिल्नाले भने आर्थिक कार्यहरु सफल हुनेछन्।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
शुक्रको उदयका कारण मीन राशि हुनेहरुको पराक्रममा वृद्धि हुनेछ। धर्म-कर्ममा सहभागिता बढ्नेछ भने सामाजिक कार्यमा पनि सहभागिता रहला। तर, खर्च बढ्नाले भने आर्थिक समस्या पर्न सक्ने देखिन्छ। परिवारमा पनि मतभेद रहन सक्ने हुँदा बोलि तथा व्यवहारमा नियन्त्रण राख्नु होला।