काठमाडौँ – बुधबार ५ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ५ सय ८६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ५४६ जना पुरुष र ४० जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ। जसमध्ये ५३९ जना महिला र ६ हजार ६ सय ३८ जना पुरुष रहेका छन्।
यस्तै बितेको २४ घण्टामा नेपालका ९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। बुधबार डिस्चार्ज हुने ९ जना नै पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार १ सय ६७ पुगेको छ। अहिले सम्म १ हजार ५५ जना पुरुष र १ सय १२ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको पनि जागेश्वर गौतमले जानकारी दिएका छन्। पालगन्ज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण संक्रमणको पुष्टि भएसँगै ज्यान गुमाउनेको संख्या २० पुगेको उनले बताए।

