काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता बारे अनावश्यक हल्ला गरिएको बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हल्लाको पछाडि लागेर एमसीसी सम्झौता बारे अनावश्यक तर्कवितर्क गरिएको बताएका हुन्।
उनले भने, “सो सम्झौतामा के कस्ता विषय समावेश छन् । सो सन्दर्भमा खोजेर पढ्न म सबैलाई आग्रह गर्दछु । हल्लाका पछाडि लाग्नुको कुनै अर्थ छैन ।”
अमेरिकी सेना आउने भो भनेर अनावश्यक रुपमा हल्ला गरिएको र गलत प्रचार गरिएको भन्दै प्रधानमन्त्रीले भने, “कागले कान लग्यो भनेर कागको पछाडि दौड्ने कि कान छाम्ने हो । लहैलहैमा कुद्ने प्रवृत्ति सान्र्दभिक छैन, विकास हुन आट्यो भन्ने चिन्ता हो, कि अनुदान आयो भन्ने चिन्ता हो ?”
प्रधानमन्त्रीले आफूले विगतदेखि नै राष्ट्र, राष्ट्रियताको पक्षमा अडान राखेको र त्यस्तो अडान पदमा रहँदा वा नरहँदासमेत कायम नै रहेको उल्लेख गरे ।
प्रधानमन्त्री कार्यालयमा अनुपयुक्त बजेट विनियोजन नभएको स्पष्ट पार्दै उनले आग्रह तथा पूर्वाग्रहका आधारमा प्रधानमन्त्रीको कार्यालय देख्नै नहुने गरी तर्क गर्नुको समेत अर्थ नभएको बताए । प्रधानमन्त्री ओलीले क्षमताअनुसार कोरोना नियन्त्रणमा बजेट विनियोजन गरिएको र मातहतका सबै निकायमा गरिएको खर्च आवश्यक नै भएको स्पष्ट पारे । कोरानाका कारण शारीरिक मात्रै नभई मानसिक बिरामी बनाएकाले उनीहरुलाई मनोवैज्ञानिक रुपमा सबल बनाउन लाग्नुपर्ने उनले स्पष्ट पारे ।
प्रधानमन्त्रीले आफूले अभिभाकत्व लिएको मुगु र सिरहाका बालबालिकासहित देशैभरका विद्यार्थीलाई सहज रुपमा अध्ययन अध्यापन गराउनसमेत पहल गरिरहेको जानकारी दिए । “सरकारले यही असार १ गतेदेखि अनलाइन, रेडियो तथा टेलिभिजनबाट शैक्षिक गतिविधि अगाडि बढाएको छ”, उनले भने, “सबै स्थानमा सुविधा, सहुलियत, पहुँच पुर्याउन सकिएको छैन । इन्टरनेट पुर्याउने, कम्प्युटर, टेलिभिजनको पहुँच, टावर, प्रसारणको क्षमता पुगेका छैनन् । त्यस्ता स्थानका विद्यार्थीप्रति चिन्तित छौँ ।”
उनले नेपालका विद्यार्थीलाई प्रतिस्पर्धी नागरिक बनाउने गरी सरकारले ध्यान दिएको र सोहीअनुसारको काम गरिने बताए । सरकारले आगामी वर्ष, नेपाललाई साक्षर घोषणा गर्ने योजना बनाएको भए पनि कोरोनाका कारण सम्भव नहुने देखिएकाले अर्को वर्ष लाग्ने प्रधानमन्त्रीको भनाइ छ ।

