काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ट नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य ठीक नभएको आरोप लगाएका छन्।
बिहिबार राष्ट्रियसभामा सम्बोधन गर्दै ओलीले कोरोना रूघाखोकीजस्तै हो भनेको प्रति टिप्पणी गर्दै बाबुरामले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य ठीक र उनलाई सक्दो छिटो विदा दिनुपर्ने बताएका हुन्।
बिहिबार प्रधानमन्त्री ओलीले कोरोना रूघाखोकीजस्तै हो भनेका थिए। ओलीले कोरोना लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ भनेका थिए।
देशका प्रधानमन्त्रीले पटकपटक वेसुरका कुरा गर्दा प्रतिवाद नगरी बस्न नहुने उनको बुझाई छ। “देशको प्रमले पटकपटक यस्ता वेसुरका कुरा गर्दा हामी सुनेर बस्छौं वा प्रतिवाद गर्न डराउँछौं भने गरीबी, धामीझाँक्री र अन्धविश्वासको दुष्चक्रमा परेका जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून्?”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।
पटकपटक वेसुरका कुरा गर्ने प्रधानमन्त्रीको स्वास्थ्य ठीक नदेखिएको र उनलाई सबैले साहस बटुलेर विदा दिनुपर्ने भट्टराईको तर्क छ। “अब सबैले साहस बटुलेर भन्नैपर्छ- प्रमको स्वास्थ्य ठीक छैन;छिटो विदा दिनैपर्छ!”,भट्टराईले लेखेका छन्।