एजेन्सी – समुद्र अनेक जीव-जन्तुको वासस्थान मात्र होइन कयौं रहस्यको भण्डार पनि हो। समुन्द्र भित्र के-कस्ता जीव पाइन्छन् भन्ने कुरा अनुसन्धान गरेर नसकिने कुरा हो।
समुन्द्रमा पाइने जीव मध्ये एक रहेको माछा बारे भने अहिले सम्म कयौं अनुसन्धान भइसकेका छन्। तर, त्यसलाई पर्याप्त र पूर्ण भन्न भने मिल्दैन। समुन्द्रमा साना, मझौला र ठूला गरी हजारौं प्रजाति छन्। त्यस मध्ये केहि विषालु पनि छन्।
समुन्द्रमा पाइने विषालु माछा मध्ये ‘स्टोन फिश’ पनि एक हो। मकर रेखा आपसपासको समुन्द्री क्षेत्रमा पाइने ‘स्टोन फिश’ देख्दा ढुंगा जस्तै देखिन्छ। यहि कारणले गर्दै यसको नाम ‘स्टोन फिश’ रहन गएको हो।
यो माछा धेरै नै विषालु हुन्छ। यसले विषको एक थोपा पानीमा मिलाउने र त्यस पानी पिलाउने हो भने त्यसले हजारौं मानिसको ज्यान लिन सक्ने बताइन्छ। समुन्द्रमा यसलाई झुक्किएर कसैले कुल्चियो भने यसले आधा सेकेन्डमै विष फाल्छ। यसको विष यति खतरनाक हुन्छ की त्यसले केहि समयमै टेक्ने मानिसमा असर देखाउन थाल्छ। यसबाट बच्न उसको खुट्टा नै काट्नुपर्ने अवस्था आउन सक्छ।
आफू माथि परेको वजन अनुसार ‘स्टोन फिश’ले विष निकाल्ने बताइन्छ। उसले विष विसर्जन गरेपछि कतैबाट शरीरमा विष प्रवेश गर्यो भने त्यस व्यक्तिको मृत्यु लगभग तय हुन्छ।