चितवन – कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेको छ ।
प्रजिअ भट्टराईका अनुसार बोरिङ खन्दा आएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहँेला कणहरु देखिएका छन् । हाल एक सय ६० फिट तल बोरिङ खन्दै गर्दा बालुवामा पहँेला कणहरु देखिएका हुन् । उहाँले काम रोकेर ठाउँ सुरक्षित गर्न भनिएको जानकारी दिनुभयो । प्रशासनले यस विषयमा गृहमन्त्रालयमा पत्राचार गरेको छ । थप अध्ययनपछि के हो भन्न सकिने प्रजिअ भट्टराईको भनाइ छ ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको अनुदानमा स्थानीय टोलले बोरिङ खन्दै गर्दा सुन जस्ता पहँेला वस्तु देखिएपछि स्थानीयवासीले आफूलाई खबर गरेको बताउनुभयो । आफूले जिल्ला समन्वय प्रमुख र प्रजिअलाई खबर गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
कालिका नगरपालिका–१ मा स्थानीयवासी सन्तवीर स्याङताङको जग्गामा डिप बोरिङ खन्ने क्रममा निस्किएको बालुवामा सुन जस्तै देखिने कण निस्किएको हो ।
कोरोना नियन्त्रण खर्च सार्वजानिक
पूर्वी चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न हालसम्म रु ८९ लाख ४३ हजार ४३० खर्च गरेको छ । नगर प्रमुख प्रभा बरालले कोरोना तीन महिनामा राहतसहित विभिन्न शीर्षकमा सो रकम खर्च भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार राहतमा रु ६५ लाख ३१ हजार २५६, स्वास्थ्य सामग्री खरिदमा रु आठ लाख ९६ हजार ७६१, क्वारेन्टिनमा रु दुई लाख ८२ हजार ६१२ खर्च भएको छ । यस्तै क्वारेन्टिनमा रहेको व्यक्तिको खाना, खाजा खर्चमा रु सात लाख ४९ हजार २७०, सवारी चालकका लागि रु एक लाख २२ हजार ८३०, कोरोना बीमा रु एक लाख ३७ हजार ४२०, इन्धन खर्च रु ४१ हजार ४२, एम्बुलेन्स भाडा रु ३५ हजार २२० र अन्यमा एक लाख ४१ हजार नौ खर्च भएको छ । सो खर्चलाई कार्यपालिका बैठकले अनुमोदन समेत गरेको छ ।
नगरपालिकाका १२१ जनाले १८ देखि २१ दिन क्वारेन्टिनमा बसेको उहाँले जानकारी दिनुभयो । ती मध्ये १३ महिला, १०१ पुरुष, तीन बालबालिका, दुई गर्भवती र दुई वृद्धा रहेका छन् । १३ वटा वडामा ६४ हजार जनसङ्ख्या रहेको सो नगरपालिकाले छ हजार ५३२ जनालाई राहत वितरण गरेको जनाइएको छ ।

